RayNewsDaily
शेयर बजार सामान्य वृद्धि

रे समाचार/काठमाण्डू । बडा दशैँअघिको अन्तिम कारोबार दिन आज शेयर बजार सामान्य अंकले वृद्धि भएको छ । हिजो करिब साढे २७ अंक घटेर बन्द भएको शेयर बजार मापक नेप्से परिसूचक आज ४.८५ अंक बढेर २६६८.१७ विन्दुमा पुगेको छ ।

नेप्से सामान्य अंकले वृद्धि भए पनि आज कारोबार रकम भने घटेको छ । हिजो साढे ४ अर्बको शेयर खरिदबिक्री भएकोमा आज ३ अर्ब ७६ करोड १५ लाख १२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज मिड सोलु हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी, अप्पर साङ्गे हाइड्रोपावर, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको शेयरमूल्य साढे ६ प्रतिशतले बढेको छ । थ्रिस्टार हाइड्रोपावरको शेयर भने आज नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा आज नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको २२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसैगरी, सानिमा बैंकको करिब १९ करोडको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्स्को साढे १५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

१३ उपसमूहमध्ये आज ९ वटा उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.०५ प्रतिशतले बढेको छ । अन्य ८ उपसमूहको परिसूचक सामान्य वृद्धि भएको छ । विकास बैंक, लगानी, जीवन बीमा र व्यापार उपसमूहको परिसूचकमा भने सामान्य गिरावट आएको छ ।
 

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update