गलकोट (बागलुङ), २०८१ असोज २४ गते बिहीबार । नेपालीहरूबीच दसैँमा रातोमाटोले घर पोत्न परम्परा नै छ । ढुङ्गा र माटोले पोतिएका घरलाई दसैँमा चिटिक्क बनाउन यस बेला स्थानीय रातोमाटोको जोहो गर्न व्यस्त देखिन्छन् ।
परम्परा धान्नकै लागि भए पनि यहाँका स्थानीयले रातोमाटोले घर पोत्ने चलन छाडेका छैनन् । दसैँ नजिकिएसँगै दिनहुँजसो यहाँका रातोमाटो पाइने स्थानमा स्थानीयको भीड नै लागेको देखिन्छ । केहीले आफ्नै घरका लागि त केहीले व्यावसायिक रूपमा नै रातो माटो खनेर बिक्रीसमेत गर्ने गरेको पाइन्छ ।
काठेखोला गाउँपालिका–१ पाला निवासी कमला भण्डारी दसैँ आउँदा सेतो कमेरो, पहेलो र रातो माटोले घर सजाउने चलन अझै गाउँ घरमा कायमै रहेको बताउनुहुन्छ । बजारका घरमा रेडिमेट रङ्ग लगाउने चलन भए पनि परम्परागत माटोले बनेका घरमा अझै रातोमाटोले पोत्ने चलन रहेको उहाँको भनाइ छ । “धेरै घर त सिमेन्टका बनिसके, त्यस्तो घर बनाएकाहरूले रेडिमेट रङ प्रयोग गर्छन् तर गाउँमा रहेका परम्परागत घरमा भने माटो नै चाहिन्छ, दसैँमा घर चोख्याउन भए पनि रातोमाटो प्रयोग हुन्छ,” भण्डारीले भन्नुभयो “अहिले त रातोमाटोसमेत व्यावसायिक रूपमा बिक्री गर्न घर–घरमै लैजाने गरेको छ । मैले त स्थानीय माटो पाइने ठाउँबाट जोहो गरेकी छु ।”
राससका अनुसार घर लिपपोतका लागि बागलुङ नगरपालिकाको खहरे, बोक्सेलगायतका स्थानमा रातोमाटो पाइने गरेको छ । विगतको तुलनामा माटो लिन आउनेहरू सङ्ख्या पातलिँदै गए पनि प्रचलन भने कायमै रहेको स्थानीय बताउछन् ।
हुन त घरको पिढी र बाहिरी भित्तामा अन्य रङ लगाए पनि भित्री भाग वा पूजा गर्ने ठाउँमा मात्रै किन नहोस् रातोमाटोले लिप्ने प्रचलनसमेत छ । “घरको कुनै न कुनै भागमा रातोमाटोले नपोतेसम्म चोखो हुँदैन, सिमेन्टकै घरमा पनि जमरा राख्ने स्थानलाई गोबर र रातोमाटोले पोतेर चोखो बनाउनुपर्छ भन्ने मान्यता अझै छ”, स्थानीय गमकुमारी पुनले भन्नुभयो, “अघिपछि भन्दा दसैँको समयमा रातोमाटोको महत्व बढी छ, घरमा रातोमाटोले पोतेपछि बल्ल दसैँ आए जस्तो लाग्छ ।”