तनहुँ (दमौली) । बडादशैंको सातौ दिन आज तनहुँको व्यास नगरपालिका–४ स्थित कालिका मन्दिरमा फूलपाती भित्रियाइएको छ ।
प्रत्येक वर्ष झै यस वर्ष पनि विधिपूर्वक कालिका मन्दिरमा फूलपाती भित्रियाइएको हो । बाजागाजा सहित दमौली बजार परिक्रमा गरी कालिका मन्दिरमा पुगेर फूलपाती भित्रियाइएको हो । चापाघाटस्थित कालीभञ्जन गण (इ) का सेना र जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरीले लिएर गएको डोली कालिका मन्दिरमा भित्रियाइएको हो । त्यसअघि विपी वनवाटिकास्थित बेलको रुखमा पूजाआजा गरिएको फूलपाती व्यवस्थापन समितिका संयोजक तथा सहिद कालिका जङ्गल पार्कका निवर्तमान अध्यक्ष इश्वरबहादुर विष्टले जानकारी दिनुभयो । फूलपाती भित्रियाउने कार्यक्रममा तनहुँका प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, विभिन्न वडाका अध्यक्ष, राजनीतिक दलका प्रमुख, सङ्घसंस्थाका प्रमुख र प्रतिनिधिको लगायतको सहभागिता थियो ।
प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व शुक्रबारशास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्रियाईएको हो । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंँघर अथवा पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्रियाइन्छ ।