जाजरकोट । चैत महिनामा भेडालाई पाटन क्षेत्रको चरिचरण गराउनका लागि जाजरकोट बारेकोट गाउँपालिका-४ चाखुरे लगायतका ठाउँमा लगिएका भेडाहरु दशै मनाउन गाउँ तीर ल्याउने काम सुरु भएको छ ।
गोठालाहरुले भेडासँगै लगेका सुरक्षाको जिम्मेवारी बोकेका कुकुरहरु समेत भेडासँगै गाउँ फर्किएका छन् । चिसो मौसम बढेसँगै हिमपात हुने सम्भावना भएकाले पनि पाटन क्षेत्र छोडनुपर्ने बाध्यता रहेको गोठालाहरु सुनाउछन् । जाजरकोट, जुम्ला र डोल्पाको सिमानामा पुर्याउर भेडाहरु चरिचरण गराएर दशै, तिहार जस्ता ठुला पर्ब मनाएपछि बेशी तीर भेडा पालन हुने गर्दछ । चिसो छल्न वेशी तीर आएका भेडाहरु गर्मी मौसममा हिमालमा पुर्याइन्छन् । बारेकोट गाउँपालिकाका अधिकांश किसानहरुले भेडा पालन गर्दछन् ।
राससका अनुसार आम्दानीको मुख्य स्रोतको रुपमा भेडालाई लिइन्छ । बारेकोटको जिरी, रामीडाँडा, धुमा, करुका लगायतका ठाउँमा भेडा पालन बढी हुने गर्दछ । पशुपालनको राम्रो सम्भावना रहेको बारेकोटमा आम्दानीको परपर्दो आधार समेत यही रहेको छ । बैदेशिक रोजगारीमा पनि उत्तिधेरै सफलता हात नपार्नेहरुले पछिल्लो समय भेडा र बाख्रा पालनलाई मुख्य पेसा बनाउने गरेका छन् । जागिरे मनस्थितीबाट परिवार र देशको अर्थतन्त्र कहिल्यै नक्सने भएकोले पनि यस्ता आयमूलक व्यवसायमा लाग्नुपर्ने विज्ञहरुको सुझाव छ ।