RayNewsDaily
सर्च कमिटीलाई तत्काल पूर्णता दिन तीन दल सहमत

रे समाचार/काठमाण्डू । तीन शीर्ष राजनीतिक दलहरुबीच सर्च कमिटीलाई तत्काल पूर्णता दिने विषयमा सहमति भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको शीर्ष तीन राजनीतिक दलका नेताहरुको बैठकले सो सहमति गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रमेश लेखक, नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश बडाल सहभागी हुनुभएको थियो ।

बैठकमा शान्ति प्रक्रियालाई टुुङ्गोमा पुर्‍याउने विषयसँग जोडिएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठनलगायतका विषयमा छलफल भएको नेकपा (माओवादी केन्द्र)का शक्तिबहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन सम्बन्धी अघिल्लो सरकारको पालामा सर्च कमिटी गठन गरिएको तर पूर्णता पाउन नसकेकाले अहिले सर्च कमिटीलाई तत्काल पूर्णता दिएर आयोग गठनको प्रक्रिया अघि बढाउने भन्नेबारेमा शिर्ष तीन दलका नेताहरु सहमत भएको बताउनुभयो ।

''शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउने विषयमा सम्बन्धित थियो । सत्य निरुपण तथा मेलमिलाप आयोग गठन सम्बन्धी अघिल्लो सरकारको पालामा सर्च कमिटी गठन गरिएको थियो र त्यसले पूर्णता प्राप्त गर्न बाँकी थियो । अहिले सर्च कमिटीलाई तत्काल पूर्णता दिएर आयोग गठनको प्रक्रिया अघि बढाउने भन्नेबारेमा नै छलफल भयो । छलफल सकारात्मक नै छ । तत्काल सर्च कमिटीलाई पूर्णता दिएर आयोग गठनको काम अघि बढाउने समझदारी भएको छ । अब एक दुई दिनभित्रै सर्च कमिटीले पूर्णता प्राप्त गर्दछ । सर्च कमिटीले पूर्णता प्राप्त गर्ने बित्तिकै आयोग गठनको प्रक्रिया औपचारिक रुपमा शुरु हुन्छ । सर्च कमिटी गठन भई त्यसले पूर्णता प्राप्त गरेको निश्चित समयभित्र आयोग गठन टुंगिनुपर्ने कानूनी व्यवस्था छ । निर्धारित समयभित्रै आयोगले पूर्णता प्राप्त गर्नेछ । शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनसक्ने आयोग गठन हुनेछ ।'' नेता बस्नेतले भन्नुभयो ।

 

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update