RayNewsDaily
शेयर बजारमा उच्च गिरावट

रे समाचार/काठमाडौं । पछिल्ला ४ कारोबार दिनदेखि बढिरहेको शेयर बजारमा आज उच्च अंकको गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ४७.४४ अंकले घटेर २६९७.९१ विन्दुमा झरेको छ ।

नेप्से घटे पनि आज भोल्यूम भने बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ७ अर्ब १९ करोडको शेयर खरिदबिक्री भएकोमा आज ८ अर्ब १८ करोड २ लाख ६२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी, ङादी ग्रुप पावरको शेयरमूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ भने हिमालयन लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ६ प्रतिशतले बढेको छ ।

आज इष्टर्न हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कारोबार रकमका आधारमा आज गुडविल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको ४५ करोड ७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, कुमारी बैंकको करिब ३८ करोडको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको २६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ । 

१३ उपसमूहमध्ये आज १२ उपसमूहको परिसूचक घटेको छ भने एउटा उपसमूहको परिसूचक स्थिर रहेको छ । आज वित्त उपसमूहको परिसूचक सर्वाधिक ४ प्रतिशतले घटेको छ । विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचकमा २ प्रतिशतभन्दा बढीको गिरावट आएको छ । यसैगरी बैंकिङ्ग, लगानी, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update