RayNewsDaily
बर्दियामा बढ्दै कृष्णसार

नवलपुर । बर्दियामा सङ्कटापन्न अवस्थामा रहेका कृष्णसारको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । 

नेपालबाट लोप हुने अवस्थामा पुगेका कृष्णसार बर्दियाको गुलरिया नगरपालिका-२ खैरापुरमा प्राकृतिक वासस्थानमा संरक्षण गरेर राखेसँगै वृद्धि भएको हो । कृष्णसार संरक्षण क्षेत्र कार्यालय खैरापुरका सूचना अधिकारी रेन्जर चौधरीले पछिल्ला वर्षहरुमा गरिएको संरक्षण प्रयासले कृष्णसारको सङ्ख्या वृद्धि हुँदै गएको बताउनुभयो ।

चौधरीका अनुसार विक्रम सम्वत २०७० सालमा यस क्षेत्रमा तीन सयको सङ्ख्यामा रहेको कृष्णसार विक्रम सम्वत २०७७ सम्म निरन्तर घट्दै १ सय ७७ मा सीमित रहेको थियो । त्यसपछिका वर्षहरुमा कृष्णसारको सङ्ख्यामा वृद्धि भएर हाल २ सय २४ वटा कृष्णसार पुगेको चौधरीले बताउनुभयो । सो स्थानमा रहेका कृष्णसार हेर्न आन्तरिक पर्यटकहरु आउने गरेको भए पनि यस क्षेत्रमा व्यवस्थित होटलहरु नहुँदा उल्लेख्यरुपमा पर्यटकहरु आउन नसकेको चौधरीको गुनासो छ । 


कृष्णसार खुला घाँसे मैदान अर्थात् दुबो र काँसको मैदानमा बस्न रुचाउने प्राणी हो । यिनीहरूको निरन्तर अवलोकन गरी सङ्ख्या अद्यावधिक गर्ने गरिएको छ । मांसाहारी वन्यजन्तु चितुवा, स्याल, फ्याउरो, भुस्याहा कुकुर, हुँडारलगायतका जनावरका कारण कृष्णसार संरक्षणमा चुनौती थपिएको चौधरीले बताउनुभयो । स्याल र फ्याउरोले विशेषगरी बच्चा जन्मने समयमा बच्चाहरूलाई मार्ने गरेको पनि चौधरीले जानकारी दिनुभयो ।  
 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update