काठमाण्डू । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ब्रिक्स देशका नेताहरूको १६ औं बैठकलाई महत्वपूर्ण सम्बोधन गर्नुभएको छ ।
स्थानीय समयअनुसार हिजो अक्टोबर २३ तारिख बिहान राष्ट्राध्यक्ष सी चिनफिङले ब्रिक्स देशका नेताहरूको १६औं बैठकको विशेष सत्रमा भाग लिएर ब्रिक्सको भावी विकासका विषयमा ५ बुँदे प्रस्ताव प्रस्तुत गर्नुभएको छ।
राष्ट्राध्यक्ष सीले हाल विश्व नयाँ अशान्त परिवर्तनको युगमा प्रवेश गरी महत्त्वपूर्ण निर्णयहरूको सामना गरिरहेको भन्दै सबैले यस्ता परिस्थीतिको अगाडी साहसका साथ उभिएर ‘ठूलो ब्रिक्स सहकार्य’को उच्च गुणस्तरीय विकासको नयाँ अध्याय लेख्नुपर्ने कुरामा जोड दिनुभयो।
राष्ट्राध्यक्ष सीले सम्बोधनका क्रममा प्रस्तुत गर्नुभएका ५ बुँदे प्रस्तावमा शान्तिपूर्ण ब्रिक्सको निर्माण गर्नुपर्छ र ब्रिक्स साझा सुरक्षाको संरक्षणकर्ता बन्नुपर्छ, ब्रिक्सले युक्रेन सङकटको परिस्थितिलाई छिटोभन्दा छिटो गरी शिथिल पार्नुपर्छ, गाजा क्षेत्रमा चाँडै नै युद्धविरामलाई साकार तुल्याउनुपर्छ र सम्पूर्ण, निष्पक्ष र स्थायी रूपमा प्यालेष्टाइन समस्याको समाधानका लागि अथक प्रयास गर्नुपर्छ भन्नुृभएको छ ।
नयाँ विचार सहितको ब्रिक्स’को निर्माण गर्नुपर्ने र उच्च गुणस्तरको विकासका लागि अग्रणी बन्नुपर्ने, चीनले ब्रिक्स देशहरूको गहिरो समुद्री स्रोत सम्बन्धी अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र, ब्रिक्स देशका विशेष आर्थिक क्षेत्र सम्बन्धी चीन सहयोग केन्द्र, ब्रिक्स देशका औद्योगिक क्षमता सम्बन्धी चीन केन्द्र र ब्रिक्स देशका डिजिटल उद्योग इकोसिस्टम सहयोग सञ्जाल स्थापना गर्ने कुरा राष्ट्राध्यक्ष सीले उल्लेख गर्नुभएको छ ।
त्यसैगरी राष्ट्राध्यक्ष सीले ‘हरित ब्रिक्स’को निर्माण, दिगो विकासलाई व्यवहारमा उतार्ने प्रतिवद्धता, ब्रिक्स मुलुकहरूसित हरित व्यवसाय, स्वच्छ उर्जा र हरित खानी सम्बन्धी सहकार्यको परिधि विस्तार गर्नुका साथै सम्पूर्ण व्यावसायिक लाइनको हरित विकासलाई अघि बढाउँदै आपसी यथेष्ट गुणस्तरीय सहकार्यलाई उकास्दै जान चीन इच्छक रहेको बताउनुभएको छ ।
राष्ट्राध्यक्ष सीले सम्बोधनमा न्यायोचित ब्रिक्सु निर्माण गर्दै विश्व शासन प्रणालीको सुधारमा अगुवा बन्न आवश्यक रहेको उल्लेख गर्नुभएको छ । वित्तीय पूर्वाधारको अन्तरसम्बन्धलाई बढाउने, उच्चस्तरीय वित्तीय सुरक्षाको संरक्षण गर्ने, नयाँ विकास बैंकको विस्तार र सुदृढीकरण गर्ने र विश्व आर्थिक परिदृश्यमा आएको परिवर्तनलाई अझ राम्रोसँग प्रतिबिम्बित गर्न अन्तर्राष्ट्रिय वित्तीय प्रणालीलाई सुधार गर्नुपर्नेमा जोड दिनुभएको छ ।
मानवतावादी ब्रिक्सु निर्माण गर्दै सभ्यता र सहजीवनको हिमायती बन्नुपर्ने, शासन व्यवस्था सम्बन्धि अनुभवको आदानप्रदानलाई मजबुत पार्दै विभिन्न सभ्यताहरुको समावेशी सह(अस्तित्वको आह्वान गर्नुपर्ने, आगामी ५ वर्षमा ब्रिक्स देशहरूमा १० वटा विदेशी अध्ययन केन्द्रहरू स्थापना गरिने, जसले एक हजार जना शिक्षा प्रशासकहरू, शिक्षकहरू र विद्यार्थीहरूलाई प्रशिक्षणको अवसर प्रदान गर्ने राष्ट्राध्यक्ष सीले बताउनुभएको छ ।
ब्रिक्स मुलुकहरूसँगै मिलेर मानव जातिको भाग्य एकरुपताको निर्माण गर्दै जान चीन इच्छुक रहेको कुरा पनि सीले उद्घोष गर्नुभएको चिनियाँ सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।