रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजारमा गिरावट आएको छ । हिजो घटेर बन्द भएको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
आज नेप्से परिसूचक १८.२५ अंक घटेर २६२७.१४ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ६ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब ४१ करोड ९१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज एसबिआई बैंकको शेयरमूल्य सर्वाधिक ९.७५ प्रतिशतले वृद्धि भएको छ ।
यसैगरी, पिपुल्स हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । आज रावा इनर्जी डेभलपमेन्टको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कारोबार रकमका आधारमा आज एनएलजी इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो इन्स्योरेन्सको ३४ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसैगरी, साहस ऊर्जा र आईसीएफसी फाइनान्सको करिब २५ करोडको शेयर खरिदबिक्री भएको छ भने पिपुल्स हाइड्रोपावरको साढे २४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
१३ उपसमूहमध्ये आज १२ उपसमूहको परिसूचक घटेको छ भने एउटा उपसमूहको परिसूचक बढेको छ । जलविद्युत् उपसमूहको परिसूचक ०.३६ प्रतिशतले वृद्धि भएको हो । बैंकिङ्ग, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक आज १ प्रतिशतभन्दा बढीले घटेका छन् भने बाँकी उपसमूहहरुको गिरावटदर १ प्रतिशतभन्दा कम रहेको छ ।