
रमेश हतुवाली, काठमाण्डू । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्ष प्रवेशका अवसरमा काठमाण्डूमा वृत्तचित्र प्रदर्शन गरिएको छ ।
काठमाण्डू मध्यबानेश्वरस्थित एम्बिसन एकेडेमीमा कक्षा दशमा अध्ययनरत विद्यार्थीहरुका लागि नेपाल र चीनबीचको ऐतिहासिक, धार्मिक, साँस्कृतिक, राजनीतिक लगायतका विविध विषयहरुबारे जानकारी दिने उद्धेश्यले आज सो वृत्तचित्र प्रदर्शन गरिएको हो ।
चाईना मिडिया ग्रुपले उत्पादन गरेको सो वृत्तचित्रमा नेपाल र चीनबीचको सम्बन्धलाई जनस्तरसम्म विकास गर्ने उद्धेश्यले नेपालको एकसिंगे गैंडा र पाण्डाको सम्वाद, नेपाल र चीनबीचको चियाको सम्वाद, चीनको मकाओ गुफा र नेपालको बौद्धनाथको सम्वाद, चीनको लसान बुद्ध र नेपालको लुम्बिनीका बुद्धबीचको सम्वाद र नेपाली राजकुमारी भृकुटीको समय यात्रा समेटिएको चाईना मिडिया ग्रुपको नेपाली सेवामा कार्यरत विदेशी विशेषज्ञ चेतनाथ आचार्यले जानकारी दिनुभयो ।
सो वृत्तचित्र हेरेपछि विद्यार्थी, शिक्षक लगायतका दर्शकहरुले नेपाल र चीनबीचको ऐतिहासिक कालदेखिको प्रगाढ सम्बन्ध, नेपाली राजकुमारी भृकुटी, भगवान गौतमबुद्ध, अरनिको लगायतका नेपाली युगपुरुष र चिनियाँ महामानवहरुले दुईदेशबीचको सम्बन्धलाई जोड्न पुर्याउनु भएको योगदानबारे जानकारी प्राप्त गरेको रे टेलिभिजनलाई प्रतिक्रिया दिनुभएको छ ।
नेपाल र चीनबीच सन् १९५५ अगस्त १ तारिखका दिन कुटनीतिक सम्बन्ध स्थापना भएको हो । आउँदो वर्ष भव्य रुपमा कुटनीतिक सम्बन्धको ७० वर्ष मनाउने तयारी दुवै देशले गरिरहेका छन् ।