RayNewsDaily
शेयर बजारमा सामान्य गिरावट

रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको शेयर बजार मापक नेप्से परिसूचक आज ९.१९ अंक घटेर २६१७.९५ विन्दुमा झरेको छ ।

नेप्से घटे पनि आज चार वटा स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, रिभर फल्स पावर, माई खोला हाइड्रोपावर र समृद्धि फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, कालिञ्चोक दर्शनको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने मकर जितुमाया सुरी हाइड्रोपावरको शेयरमूल्य करिब साढे ७ प्रतिशतले बढेको छ । नेपाल एसबिआई बैंकको शेयरमूल्य भने सर्वाधिक ६.७९ प्रतिशतले घटेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ५ अर्ब ४१ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ४ अर्ब ७३ करोड २४ लाख ८७ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

कारोबार रकमका आधारमा आज आईसीएफसी फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको ३२ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसैगरी, नेपाल एसबिआई बैंकको साढे २१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको करिब १९ करोडको शेयर खरिदबिक्री भएको छ । १३ वटा उपसमूहमध्ये आज ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.१५ प्रतिशत बढेको छ । यसैगरी, वित्त उपसमूहको परिसूचक १.११ प्रतिशतले वृद्धि भएको छ । बैंकिङ्ग उपसमूहको परिसूचकमा भने आज सर्वाधिक १.३० प्रतिशतको गिरावट आएको छ ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update