रे समाचार/काठमाडौं । निरन्तर तीन कारोबार दिन गिरावट आएको शेयर बजार आज दोहोरो अंकले वृद्धि भएको छ ।शेयर बजार मापक नेप्से परिसूचक आज २७.४१ अंक बढेर २६४५.३६ विन्दुमा पुगेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो ४ अर्ब ७३ करोडको शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज दुई वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जानकी फाइनान्स र दोल्ती पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, रिभर फल्स पावरको शेयरमूल्य साढे ९ प्रतिशतले वृद्धि भएको छ भने मेन्छियाम हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । पिपुल्स हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ६.०२ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको ३३ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, समृद्धि फाइनान्सको साढे २४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशनको करिब २० करोडको शेयर किनबेच भएको छ ।
आज १३ वटै उपसमूहको परिसूचक बढेको छ । वृद्धि भएकामध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.४६ प्रतिशत बढेको छ । त्यसैगरी, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, जीवन बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।