RayNewsDaily
चाडपर्वमा तराई मधेसका बजारहरु चलायमान

रमेश हतुवाली/विराटनगर । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । 

तिहार सुरु भएसँगै तराई मधेसका बजारहरु पनि चलायमान भएका छन् । आज काग तिहार भए पनि हिजो मंगलबारदेखिनै सप्तरीको राजविराज, सिरहाको लहान, सुनसरीको इनरुवा, ईटहरी, झुम्का, दुहवीबजार, मोरंगको विराटगनर, पुष्पलालचोक, झोराहाट, नेताचोक, बेलबारी, हरैचाबजार, झापाको दमक, विर्तामोठ, चन्द्रगढी लगायतका बजारहरुमा बिहान सूर्योदयदेखि राती ९ बजेसम्म किनमेलका लागि स्थानीयहरुको घुइचो लागेको हो ।

आज कागतिहारको दिन बिहानैदेखि विराटनगको गुद्री बजारमा तिहारका विभिन्न सामग्री किन्नेहरुको घुइचो लागेको छ । तिहारका लागि कुचो, नाङ्लो, माटाका दियो, कलस, लक्ष्मीको तस्विरदेखि सप्तरंगी टीका, सयपत्री, मखमली, कमल लगायतका फूल, स्याउ, केरा, बिमिरो, सुन्तोला किन्नेहरुको पनि बाक्लो घुईचो लागेको छ ।

कतिपयले आज पनि धनतेरस पर्व मनाउने भएकाले सुनचाँदी पसलहरु र तामाका सामग्री बेच्ने पसलहरुमा पनि निक्कै बाक्लो भीडा देखिएको छ । त्यसैगरी तिहारका लागि रंगीविरंगी विजुलीका बत्ति किन्नेहरुको लर्को पनि स्थानीय बजारहरुमा देखिएको छ ।

चाडपर्व सुरु भए लगत्तै स्थानीय बजारहरुमा फलफूल र फूलहरुको मुल्य दोब्बर सम्म बढेको छ । दशैअघिसम्म एकसय ५० मा पाईने स्याउको मूल्य यतिबेला प्रतिकिलो २ सयदेखि २ सय ५० सम्म पुगेको छ भने, केरा, सुन्तोला, आँप लगायतको मूल्य पनि किलोमा ५० देखि १०० रुपैँयासम्म बढेको छ । विगतको तुलनामा सयपत्री र मखमली फूलको दाम पनि आकाशिएको स्थानीयहरुको गुनासो छ । असोज १० देखि १३ गते सम्म आएको अविरल वर्षाका कारण फूलको उत्पादन कम भएर पनि दाम बढेको धनकुटाका फूलव्यापारी नवराज बस्नेतको भनाइ छ ।

विगतमा विराटनगर, इटहरी, राजविराज, चन्द्रगढी लगायतका बजारमा भारतीय फूलहरुको विक्रि प्रशस्त हुने गरेको भए पनि यस पटक भने कतै कतै मात्र भारतीय फूलहरुको विक्री भएको देखिएको छ । दशैंअघिदेखि बढेको तरकारीको भाउ तिहारमा पनि कम भएको छैन । स्थानीय व्यापारीहरुले छठ पर्वपछि मात्र तरकारीको भाउ सस्तो हुने बताएका छन् ।

असोज महिनाको बाढी र पहिरोले सुस्ताएको तराई मधेसको अर्थतन्त्र तिहार र छठ पर्वमा अझ चलायमान हुने विज्ञहरु बताउँछन् । 

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  २०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update