RayNewsDaily
पाकिस्तानमा पोलियो विरुद्धको खोप अभियानमा बम विष्फोट, सात जनाको मृत्यु

मास्टुङ, पाकिस्तान । पाकिस्तानको पश्चिमी क्षेत्रमा पोलियो खोप लगाउनेहरूको सुरक्षामा खटिएका प्रहरीलाई लक्षित गरी गरिएको बम विस्फोटमा परी पाँच बालबालिकासहित सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बलोचिस्तान प्रान्तको मस्टुङ शहरमा राष्ट्रव्यापी खोप अभियानमा सहभागी स्वास्थ्यकर्मीको सुरक्षाका लागि भ्यानमा यात्रा गरिरहेका अधिकारीहरूलाई लक्षित गरी बम विस्फोट गराइएको प्रहरीले जनाएको छ ।

शहरका वरिष्ठ अधिकारी अब्दुल फतहले एएफपीसँग कुरा गर्दै भन्नुभयो, “एक प्रहरी अधिकारी, पाँच बालबालिका र एक पसले गरी सात जनाको मृत्यु भएको छ ।”

विस्फोटको जिम्मेवारी तत्काल कुनै पनि समूहले लिएको छैन ।

पाकिस्तान र छिमेकी अफगानिस्तानमा अहिले पनि पोलियोको प्रकोप कायमै रहेको छ र खोप टोलीलाई सुरक्षा बलविरुद्ध लड्दै आएका लडाकूहरूले बारम्बार निशाना बनाउने गरेका छन्। एएफपी

प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१  ०६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update