रे समाचार/काठमाण्डू । दीपक मनाङे नामले परिचित गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङलाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डूको सानो भर्याङस्थित कम्फर्ट हाउजिङबाटबाट गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आज बिहान पक्राउ गरेको हो ।
केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाका अनुसार गुरुङलाई आजै काठमाण्डू जिल्ला अदालतमा उपस्थित गराइनेछ । केही दिनअघि ज्यान मार्ने उद्योगको कसुरमा निजलाई सर्वोच्च अदालतले पाँच वर्ष जेल सजाय सुनाएको थियो ।
यसैबीच, मनाङेलाई प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट अदालततर्फ लगिएको छ । अदालतमा उपस्थित गराएपछि उनलाई कारागार चलान गर्ने तयारी छ ।
मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको फैसलालाई सदर गर्दै २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । सर्वोच्चले पनि दोषी ठहर गरेपछि मनाङेविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
दीपक मनाङे समूहले २१ वर्षअघि अर्का गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरी हात छिनाएको थियो । ठेक्कापट्टा र असुली धन्दामा कुरा नमिलेपछि मनाङे समूहले चक्रे मिलन समूहमाथि २०६१ सालमा आक्रमण गरेको थियो । ज्यान मार्ने मनसायले आक्रमण गरिएको भन्दै मनाङेमाथि जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको थियो । अब फैसलाअनुसार मनाङेले बाँकी कैद भुक्तान गर्नुपर्नेछ ।