रोशन केसी, रमेश हतुवाली/काठमाण्डू । काठमाण्डूको टोखा नगरपालिकाले चीनको स्वायत प्रदेश तिब्बतमा रहेको नाक्छु शहरको प्रमुखलाई टोखाको माथिल्लो लाछीमा भव्य समारोहबीच नागरिक अभिनन्दन गरेको छ ।
आज आयोजित कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले भव्य समारोहकाबीच नाक्छु शहरका प्रमुख तासी दोर्जीलाई नागरिक अभिनन्दन पत्रसहित सम्मान गर्नुभएको हो । टोखा नगरपालिकाको निमन्त्रणमा टोखा नगरपालिकाको भ्रमणमा आउनुभएका प्रमुख दोर्जीसँगै उहाँको भ्रमण दलका प्रतिनिधिहरुलाई टोखा गेटबाट नेवारी मौलिक बाजा, खैजडी, बैण्डबाजासहित टोखा बजारको परिक्रमा गराइएको थियो ।
सन् २०२२ मा भगिनी सम्बन्धमा बाधिएका टोखा नगरपालिका र नाक्छु शहरका प्रमुखहरुले अभिनन्दन कार्यक्रममा एकअर्काबीच भविष्यमा मैत्रीपूर्ण सम्बन्ध झन् प्रगाढ बनाउन चाहेको बताउनुभएको थियो ।
आफ्नो प्रतिनिधिमण्डल शहरको न्यानोपन र मित्रताले घेरिएको भन्दै नाक्छु शहरका प्रमुख दोर्जीले दुई शहरबीचको मित्रता झन मजबुत भएको बताउनुभएको थियो । नेपाल र चीनबीचको मित्रता आपसी सम्मान, समझदारी र सहयोगमा आधारित भन्दै उहाँले चीन र नेपाल हिमाल र नदीले जोडिएका असल छिमेकी, असल मित्र र असल साझेदार रहेको बताउनुभयो ।
सम्बोधनका क्रममा प्रमुख दोर्जीले आगामी दिनहरूमा कृषि, पशुपालन र स्थानिय विशेषता युक्त उद्योगहरूमा सहयोगको सम्भावनाको खोजी गर्न प्रतिबद्ध रहेको र टोखा शहरका सबै क्षेत्रका साथीहरूसँग आ–आफ्नो सांस्कृतिक साझेदारी गर्दै थप गहन आदानप्रदान र सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले सन् २०१९ को कोभिड–१९ महामारीको समयमा नाक्छु शहरले स्वास्थ्य सामग्री र आवश्यक उपकरणहरु सहायता गरेको स्मरण गर्नुभयो । आजका मिति सम्म आईपुग्दा दुई शहरवीचको सम्वन्ध निकै प्रगाढ भएको र यसपटक भएको यो बिशेष भ्रमणले आगामी दिनमा हामी दुई शहरहरुवीचको सम्वन्धलाई थप सुदृढ गर्न र साझा भविष्यको दिशा तय गर्न मद्दत गर्ने उहाँले बताउनुभयो । दुई शहरवीच साझा सरोकारका बिषयमा यस भ्रमणमा छलफल गरी केहि बिषयमा आपसी समझदारी पत्रमा हस्ताक्षर समेत गरिने प्रमुख अधिकारीले बताउनुभयो । जनगणतन्त्र चीनको नाक्छु शहर नेपालको टोखा नगरपालिकावीच भौगोलिक परिवेश, सांस्कृतिक आदनप्रदान, पर्यटकीय संभावना, कृषि प्रधानता, विकास निर्माण, सूचना प्रविधिको विकास, खोज अनुसन्धान लगायत साझा अवस्था र संभावना रहेको र आगामी दिनमा साझा सरोकारका बिषयमा आपसी सहयोग, साझेदारी र सहकार्य मार्फत दुबै शहरका नागरिकको सुख र समृद्धिको लागि काम गर्नेछौं भन्ने बिश्वास लिएको प्रमुख अधिकारीले बताउनुभयो ।
सो अभिनन्दन समारोहमा नेवा गुठी टोखाका बासुरी खलले मंगलधुन, कलाकारहरुले मयुर नाँच, कुमारी नाँच, चरिया नाँचसँगै स्वागत नृत्यु पनि प्रस्तुत गरेका थिए । कार्यक्रममा चिनियाँ प्रतिनिधि मण्डललाई टोखा नगरपालिकाको वडा नं २ र ३ का बासीहरुले स्थानीय रुपमा उत्पादित चाक्कु उपहार दिएका थिए ।
अभिनन्दन कार्यक्रमपछि नगरपालिकाको सभाहलमा भएको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै नाक्छु शहरका प्रमुख तासी दोर्जीले गत सेप्टेम्बरमा, विदेशी देशहरूसँगको मित्रताका लागि चिनियाँ संघद्वारा एक्सिलेन्ट पार्टनर अवार्ड फर सिस्टर सिटीज विथ चाइना अवार्ड नेपालको टोखा नगरपालिका लाई प्रदान गर्ने निर्णय लिएको सहर्ष जानकारी गराउँदै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीलाई चीनको खुनमिङमा आयोजना हुने “२०२४ चाइना इन्टरनेशनल सिस्टर सिटी सम्मेलन” मा भाग लिन र उक्त बिशिस्ट पुरस्कार ग्रहण गर्न आमन्त्रण समेत गर्नुभएको छ ।
प्रमुख दोर्जीले सन् २०२५ मा चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवलाई बेल्ट एण्ड रोड इनिसिएटिभको प्रवद्र्धन गर्ने अवसरका रूपमा लिन सकिने र नाक्छु र टोखा दुबै शहरले दुई देशबीच भएको महत्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्न, घनिष्ठ आदानप्रदान कायम राख्न, आपसी विश्वासलाई निरन्तर अभिवृद्धि गर्न, मित्रतालाई गहिरो बनाउन र विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोग विस्तार जारी राख्नुपर्ने बताउनुभयो ।