RayNewsDaily
यु-१९ महिला टि-२० विश्वकपमा आज अन्तिम खेल खेल्दै नेपाल        

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसिसी यु-१९ महिला टि-२० विश्वकपको एसिया छनोटमा नेपालले आज अन्तिम खेल खेल्दैछ । युएईको अजमानस्थित द सेभेन रङ्गशालामा नेपाली समयानुसार आज दिउँसो ३ः१५ बजे नेपालले घरेलु टोली युएईको सामना गर्दैछ ।     
     
यही कात्तिक २१ गतेदेखि सुरु भएको एसिया छनोटमा नेपालको यो छैठौँ अर्थात् अन्तिम खेल हो । एसिया छनोटअन्तर्गत नेपालले पाँच खेल खेलिसकेको छ । पाँचमध्ये चार खेलमा जित हासिल गरेको छ भने एक खेलमा पराजित भएको थियो ।     
प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । दोस्रोमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो ।     
     
तेस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग खेलेको थियो । उक्त खेलमा नेपाल युएईसँग १३ रनले पराजित भएको थियो । आइतबार भएको चौँथो खेलमा नेपालले थाइल्याण्डलाई एक सय छ रन र मङ्गलबार भएको पाँचौँ खेलमा कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।     
     
छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । हालसम्म पाँच खेल खेलेको युएईले पाँचै खेल जितेको छ । युएई १० अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । यस्तै, नेपाल आठ अङ्कसहित तालिकाको दोस्रो स्थानमा, थाइल्याण्ड दुई अङ्कसहित तेस्रो र कुवेत शून्य अङ्कसहित तालिकाको अन्तिममा छ ।     
     
सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ । नेपाल विश्वकपमा छनोट हुन आजको खेलमा युएईलाई जित्नसका साथै रनरेटमा पनि पछाडि पार्नुपर्ने हुन्छ । रासस

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update