RayNewsDaily
संसदीय पत्रकारको भूमिका महत्त्वपूर्ण छ: सभामुख   

सभामुख देवराज घिमिरेले सासद र संसद्को भूमिकालाई जनतासमक्ष पु¥र्याउन संसदीय पत्रकारको भूमिका महत्त्वपूर्ण भएको बताउनुभयो ।    
    
संसदीय मामिला पत्रकार समाजको आठौँ अधिवेशनको उद्घाटन गर्दै आज उहाँले जनप्रतिनिधिका विषयजस्ताको तस्तै जनतामा पु¥याउने काम महत्वपूर्ण हुन्छ भन्नुभयो । “समाचारको सही विश्लेषण गर्नुपर्ने जरुरी छ । संसद् र संसदीय समितिको काम सञ्चारमाध्यमबाटै जनतासमक्ष पुग्ने हो”, सभामुख घिमिरेले भन्नुभयो, “संसदीय पत्रकारले संसद्का प्रत्येक यथार्थ गतिविधि बाहिर ल्याउन भूमिका खेल्नुपर्छ । ” उहाँले आगामी दिनमा पनि सहकार्य जारी रहने स्पष्ट पार्नुभयो ।    
    
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय मामिलाका समाचार सम्प्रेषण गर्ने समाजको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले संसदीय समिति र संसदीय समितिमा रहेका विधेयकका विषयमा पनि पत्रकारले लेख्नुपर्नेमा जोड दिनुभयो ।    
    
उहाँले मिडिया काउन्सिल विधेयक धेरै मेहनत गरेर तयार गर्दा राम्रो बनेको थियोे तर प्रतिनिधिसभामा गएर अघि बढन नसकेको बताउनुभयो । उपसभामुख इन्दिरा रानामगरले पत्रकार राज्यको ऐना भएको हुनाले संसद्का सही सूचना बाहिर ल्याउन संसदीय पत्रकारको भूमिका उल्लेखनीय छ भन्नुभयो ।    
    
राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले जनप्रतिनिधिका आवाज जनतासामु पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण भएको हो ।    
    
संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले जनताको दृष्टिकोणमा दुई संसद भएको आफूलाई लागेको उल्लेख गर्दै एउटा जनप्रतिनिधि र जनप्रतिनिधिका विषय बाहिर लैजाने पत्रकार पनि जनप्रतिनिधि नै भएको बताउनुभयो । उहाँले पत्रकारलाई सूचनाका लागि संसद् सचिवालय सदा खुला रहेको बताउनुभयो ।    
    
समाजका संस्थापक अध्यक्ष हरिबहादुर थापाले संसद्मा भाइरल हुनका लागि युटुबर बोकेर आउने तर संसदीय अभ्यासमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । समाजका अध्यक्ष सञ्जीव बगालेले अधिवेशनले आजै १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने जानकारी दिनुभयो ।    

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update