नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका चित्रकार भीमप्रसाद शर्मा यहाँका स्थापित चित्रकार हुन् । ज्योतिष परिवारमा जन्मिएका शर्माले बाल्यावस्थामा आफ्ना बुबाले कोर्ने चिनामा विभिन्न चित्रहरु बनाएर आफ्नो चित्रकलाको यात्रा सुरु गरेका थिए ।
शर्मा बाल्यवस्थामा हुँदा उहाँको बुबाले नेपाली कागजमा हातले कोरेर चिना निर्माण गर्नुहुन्थ्यो र त्यहाँ लेखिने अक्षरको वरपर चरा, माछा, सर्प, फूल, पुतली, चन्द्र–सूर्य तथा ताराका चित्रहरु कोरिन्थ्यो । चित्रकलामा मोफसलमा स्थापित शर्माले आफूले तीनै चिनामा चित्रहरु कोरेर आफ्नो चित्रकलाको सुरुआत गरेको बताउँछन् । बाँसलाई मसीमा चोबेर चित्र कोर्न सिक्नुभएका शर्माले साइनबोर्डमा लेख्ने तथा भित्तामा चित्र कोर्दै कुचीको सहायताले क्यानभासमा चित्र कोर्न थाल्नुभयो । बुबाको चिनाबाट चित्र कोर्न प्रेरित शर्मालाई चित्रकलाप्रति थप आकर्षण भने पोखराको पृथ्वीनारायण क्याम्पसमा प्रविणता प्रमाणपत्र तह पढ्ने बेलामा दुर्गा बराल (बात्सायन)सहित अन्य कलाकारको कामले गरेको थियो ।
वि.सं. २०३९ मा नवलपरासीको गैँडाकोटमा बसाइँ सर्दा गैँडाकोटमा शिक्षक, चित्रकार एवम् साहित्यकार गोविन्दराज विनोदीसँगको भेटपछि आफ्नो व्यावसायिक चित्रकारिता अगाडि बढेको शर्माले बताउनुभयो । चित्रकलामा रुची बढ्दै जानु र यही पेसा अपनाउन थालेपछि शर्मा चित्रकारिताको छ महिने डिप्लोमा अध्ययन गर्न सन् १९९९ मा क्यानडा जानुभयो । सन् २००३ मा काठमाण्डूमा ‘डेभलपमेन्ट इस्यु अफ नेपाल’ शीर्षकमा पहिलो एकल चित्रकला प्रदर्शनी गर्नुभएका शर्माले क्यानडामा सन् २००४ मा ‘नमस्ते फ्रम नेपाल’ शीर्षकमा दोस्रो एकल चित्रकला प्रदर्शनी गर्नुभयो । त्यसपछि उहाँले काठमाण्डू, जर्मनी, गैँडाकोट, चितवन, कपिलवस्तुमा गरी ११औँ एकल चित्रकला प्रदर्शनी गरिसक्नुभएको छ ।
जीवन दर्शनलाई विषयवस्तु बनाएर कात्तिक २१ देखि गैँडाकोट नगरप्रज्ञा प्रतिष्ठानको जानकी ग्यालरीमा शर्माले ‘कुण्डलिनी’ शीर्षकमा आफ्नो १२औँ एकल चित्रकला प्रदर्शनी गर्नुभएको छ । मङ्सिर १२ गतेसम्म सञ्चालन हुने यस प्रदर्शनीमा जीवन र दर्शनसँग सम्बन्धित विभिन्न ३७ वटा चित्रहरु निःशुल्क अवलोकन गर्न पाइने बताउनुभयो । आफूले तीन वर्षभित्र कोरेका ३५ वटा एक्रेलिक र २ वटा आयल पेन्टिङ प्रदर्शनीमा राखेको शर्माको भनाइ छ । कुण्डलिनी विधा र यसको साधनाको लोकप्रियता अहिले संसारभरी नै तीव्र गतिमा बढिरहेको भन्दै शर्माले कुण्डलिनी योग विधामा पर्ने बताउनुभयो । रासस