रे समाचार/काठमाण्डू । शेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ । हिजो घटेर बन्द भएको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
आज नेप्से परिसूचक १४.१२ अंक घटेर २७३४.८३ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने सामान्य बढेको छ । हिजो ७ अर्ब ८५ करोडको शेयर खरिदबिक्री भएकोमा आज ७ अर्ब ९१ करोड १९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । नेप्से घटे पनि आज ५ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंक, सिर्जनशील लघुवित्त वित्तीय संस्था, पोखरा फाइनान्स, मकर जितुमाया सुरी हाइड्रोपावर र समृद्धि फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
यसैगरी, रावा इनर्जी डेभलपमेन्ट र बलेफी हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने सपोर्ट माइक्रोफाइनान्स र जानकी फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर भने आज नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
कारोबार रकमका आधारमा आज जानकी फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको ३३ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, पोखरा फाइनान्सको करिब २६ करोडको शेयर कारोबार भएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको साढे २५ करोडको शेयर किनबेच भएको छ ।
१३ उपसमूहमध्ये आज ४ वटा उपसमूहको परिसूचक बढेको छ भने ९ वटा उपसमूहको परिसूचक घटेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.२० प्रतिशतले बढेको छ । विकास बैंक उपसमूहको परिसूचक करिब साढे १ प्रतिशतले वृद्धि भएको छ । बैंकिङ्ग, लगानी, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक भने १ प्रतिशतभन्दा बढीले घटेको छ ।