RayNewsDaily
शेयर बजार १३ अंकले वृद्धि

रे समाचार/काठमाण्डू । साताको अन्तिम कारोबार दिन आज शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज १३.९५ अंक बढेर २७४८.७८ विन्दुमा पुगेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो करिब ८ अर्बको शेयर खरिदबिक्री भएकोमा आज  १० अर्ब ३२ करोड ३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज तीनवटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । गुराँस लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था र अप्पर हेवाखोला हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी, ङादी ग्रुप पावर र माछापुच्छ्रे बैंकको शेयर साढे ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । रावा इनर्जी डेभलपमेन्टको शेयरमूल्य आज सर्वाधिक ९.१२ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज जानकी फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको ३५ करोड २४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, ङादी ग्रुप पावरको ३१ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने समृद्धि फाइनान्सको साढे २७ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

१३ उपसमूहमध्ये आज ७ वटा उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । जलविद्युत् उपसमूहको परिसूचक आज सर्वाधिक १.३४ प्रतिशतले वृद्धि भएको छ । विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने वित्त, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेको छ । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update