RayNewsDaily
शेयर बजारमा १३ अंकको गिरावट

रे समाचार/काठमाण्डू । साताको पहिलो कारोबार दिन आज शेयर बजारमा गिरावट आएको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार घटेर बन्द भएको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । आज नेप्से परिसूचक १३.०३ अंक घटेर २६६७.४० विन्दुमा झरेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । गत बिहीबार ८ अर्ब २५ करोडको शेयर खरिदबिक्री भएकोमा आज ७ अर्ब ७२ करोड ८८ लाख ६१ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आज थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.९१ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, ङादी ग्रुप पावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । महुली लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने करिब साढे ६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज जानकी फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको ६० करोड ८७ लाख ३६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलमेन्टको ४० करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने ङादी ग्रुप पावरको ३६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

१३ उपसमूहमध्ये दुई वटा उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको छ । विकास बैंक उपसमूहको परिसूचक भने आज सर्वाधिक १.६३ प्रतिशतले घटेको छ । 
 

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update