RayNewsDaily
दाङमा तोरीको उत्पादन बढ्दै        

घोराही (दाङ) ।  शान्तिनगर गाउँपालिका-४ जुम्लेकुलाका किसान भावना पुरीले व्यावसायिक रुपमा तोरीखेती गर्दै आउनुभएको छ । उहाँले विगत लामो समयदेखि तोरीखेती गर्दै आउनुभएको हो । तेल किनेर खाँदा महँगो पर्ने हुँदा आफैँले उत्पादन गर्दै आएको उहाँ बताउनुहुन्छ ।     
     
“बाहिर किनेको तेल स्वास्थ्यका लागि पनि त्यति राम्रो नहुने र तोरी नै उत्पादन गर्दा आफ्नो लागि र बिक्री गर्नसमेत मिल्ने भएकाले यसको खेती गर्दै आएको छु”, उहाँले भन्नुभयो, “घरमा आवश्यक परेको राख्ने र अरू सबै उचित मूल्य पाएको समयमा बेच्ने गर्ने गरेको उहाँ सुनाउनुहुन्छ ।” उहाँले १० कट्ठा जग्गामा लगाएको तोरीबाट तीन क्विन्टल बढी उत्पादन हुने गरेकोे बताउनुभयो ।     
     
तोरी घरका लागि राखेर पनि अरू बेचेर आम्दानी गर्दै आएको उहाँले बताउनुभयो । घोराही उपमहानगरपालिका-१० का किसान रेशम डाँगी पनि आफूलाई खानका लागि तोरी आफै उत्पादन गर्दै आएको बताउनुहुन्छ । राम्रो तोरीको तेल नै हुने भएको तोरीको खेती गर्दै आएको उहाँले बताउनुभयो । किनेर खानुभन्दा समयमा मेहनत गरियो भने वर्षभरि खान पुग्ने उहाँको अनुभव छ ।     
     
जिल्लामा तोरीखेती गर्ने किसानको सङ्ख्या बढ्दै जाँदा उत्पादन पनि बढ्दै गएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेका अनुसार गत वर्ष दाङमा १६ हजार चार सय १० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको थियो । त्यसबाट १६ हजार नौ सय ४३ दशमलव तीन मेट्रिक टन तोरी उत्पादन भएको उहाँ बताउनुहुन्छ ।     
     
गत वर्षको तुलनामा यस वर्ष अझ उत्पादन बढ्ने अनुमान गरिएको उहाँको भनाइ छ । मौसम अनुकूल भएमा बढ्ने उहाँले बताउनुभयो । उहाँका अनुसार यस वर्ष तोरीखेती गर्ने जमिनको क्षेत्रफलमा वृद्धि भएसँगै उत्पादनमा पनि वृद्धि हुने उहाँको भनाइ छ । यस वर्ष १६ हजार चार सय ८७ हेक्टर क्षेत्रफलमा खेती गरिएको छभने त्यसबाट १७ हजार आठ सय ६ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको सूचना अधिकारी लामिछानेको भनाइ छ । यस वर्ष गत वर्षभन्दा पाँच प्रतिशतले उत्पादन बढ्ने अनुमान गरिएको छ ।     
     
तोरीखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको हुँदा क्षेत्रफल र उत्पादन बढ्दै गएको छ । तोरीखेतीलाई जङ्गली जनावरले पनि असर नगर्ने र छिटो उत्पादन लिने बाली भएकाले गहुँ लगाउने किसान पनि तोरीखेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्लामा सबैभन्दा बढी शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका र दङ्गीशरण गाउँपालिकामा तोरीको व्यावसायिक खेती गर्ने किसानको सङ्ख्या धेरै रहेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।     
     
कृषि ज्ञान केन्द्र दाङमार्फत विशेष सघन बाली उत्पादनअन्तर्गत यस वर्ष ९० हेक्टर क्षेत्रफलका लागि नौ क्विन्टल उन्नत तोरीको बीउ किसानलाई वितरण गरिएको सूचना अधिकारी लामिछाने बताउनुहुन्छ । उक्त बीउ घोराही-७ घुस्रा र शान्तिनगर गाउँपालिका-१ र २ का किसानलाई वितरण गरिएको थियो । रासस

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update