RayNewsDaily
हराउँदै छन् गाउँमा मौलिक घर

-डम्मर बुढा मगर/ढोरपाटन (बागलुङ) । एक दशक अगाडिम्म बागलुङका ग्रामीण क्षेत्र मौलिक घरले भरिएका थिए तर आज त्यस्ता घर भेटिन छाडेका छन् । उतीवेला धेरै गाउँमा सडक पुगेको थिएन । स्थानीय माटो, ढुङ्गा र काठले बनाएका घरमा बस्थे । तर पछिल्लो समय सडक नपुगेको गाउँ छैन । गाउँमा मोटरबाटो पुगेपछि ठूला–ठूला कंक्रिटका पक्क घर भवन बन्दै गएका छन् । समेन्टका पक्की घरले ढुङ्गाले सलक्क बान्की मिलाएर छाइएका घर भेटिन छोडेका छन् । 

Paramparaghat-Ghar-2-1732530540.jpg
उतिबेला रातोमाटो र सेतो कमेरोले पोतिएका घरहरु अहिले भेट्याउनै मुस्किल पर्छ । परम्परागत रुपमा बनेका ति घरहरुले धेरैलाई आकर्षित गर्ने गरेको पाइन्थ्यो । सडकसँगै आउँ पुगेको आधुनिकताले मौलिकता हराउँदै गएको छ । दिनानुदिन गाउँमा सडक निर्माण भइरहेका छन् । सडकको प्रभाव ति पुराना परम्परागत घरहरुमा परेको छ । 

परम्परागत घर र ढुङ्गे घरहरु गाउँबाट विस्तारै ओझेलिँदै छन् । अहिले गाउँमा धमधम सिमेन्ट र कङ्क्रिटका घरहरु ठडिदै गएका छन् । सक्नेले पक्की पिल्लरवाला घर बनाएका छन् त न्यून वर्गका नागरिकले खर र ढुङ्गाको छानो हटाएर जस्तापाले घर छाउन थालेका छन् । यसले पुराना मौलिक घरहरु विस्तारै विस्थापित हुने अवस्थामा पु-याएको छ । 

Paramparaghat-Ghar-3-1732530560.jpg
मौलिक घरका रुपमा चिनिने बागलुङको निसीखोला, काठेखोला, ढोरपाटन, बडिगाड लगायतका बस्तीमा आधुनिकता झल्किन्छ । गाउँमा सडक पुगेपछि गाउँलेहरुले सहर बजारीयाले जस्तो सिकेर परम्परागत घरहरुलाई भत्काएर नयाँ स्वरुपमा बनाउन थालेका छन् । पछिल्लो समय युवा पुस्ता विदेश पलायन हुन थालेपछि गाउँ रित्तिदै गएका छन् । गाउँमा बस्नेले मौलिकता मासेर आधुनिक घर बनाइरहेका छन् ।
परम्परागत घरसँग गाउँको मौलिकता पनि हराउँदै गएको छ । यसको संरक्षणका लागि स्थानीय सरकार गम्भीर बन्नु पर्ने देखिन्छ । रासस
 

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update