बलेवा (बागलुङ) । गण्डकी प्रदेश सरकारले (आर्टिफिसियल इन्टिलिजेन्स) एआई एक्सरे मेसिन सञ्चालनमा ल्याएको छ । छाती रोगसम्बन्धी खोजपड्तालका लागि गण्डकी प्रदेशमा नै पहिलो पटक बागलुङको गलकोटबाट सेवा शुभारम्भ भएको हो ।
गलकोट नगरपालिका-११ रिघा स्वास्थ्यचौकीमा आयोजना गरिएको एक्सरेद्धारा छातीरोग खोजपड्ताल कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मेसिनको शुभारम्भ गर्नुभयो । अत्याधुनिक प्रविधिसहितको मेसिनको प्रयोगद्धारा छातीरोगको समयमा खोजी र उपचारका लागि प्रदेश सरकारले काम थालेको उहाँले बताउनुभयो ।
क्षयरोग उपचार केन्द्र गण्डकी प्रदेश पोखराले रु एक करोड ७५ लाख खर्च गरी खरिद गरेको एआई एक्सरे मेसिनले प्रदेशभरी खोजपड्ताल कार्यक्रम आयोजना गरेर छाती रोगकको पहिचान गरिने मन्त्री पाठकले बताउनुभयो । क्षयरोग लागयतका छातीसम्बन्धी रोगको समयमा उपचार नहुँदा नागरिकले ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्यका लागि प्रविधि, जनशक्ति र उचारमा प्रदेश सरकारले कार्यक्रम ल्याएको उहाँले बताउनुभयो । रासस