RayNewsDaily
शेयर बजारमा उच्च वृद्धि

रे समाचार/काठमाण्डू । शेयर बजार आज उच्च अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक हिजो करिब १६ अंक बढेकोमा आज ३३.४१ अंकले वृद्धि भई २७१६.६६ विन्दुमा पुगेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो ६ अर्ब ३४ करोडको शेयर खरिदबिक्री भएकोमा आज ७ अर्ब ४४ करोड ९८ लाख ९८ हजार रुपियाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज तीनवटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, युनाइटेड इदी मार्दी हाइड्रोपावर र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, मिथिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने अप्पर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशतले बढेको छ । थ्रिस्टार हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । 

कारोबार रकमका आधारमा आज नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको ४५ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसैगरी, ङादी ग्रुप पावरको ३३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब २९ करोडको शेयर खरिदबिक्री भएको छ ।

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ । बढेकामध्ये जलविद्युत् उपसमूहको परिसूचक सर्वाधिक १.९७ प्रतिशतले वृद्धि भएको छ । बैंकिङ्ग, वित्त, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update