
रमेश हतुवाली/काठमाण्डू, २०८१ मंसिर ११ गते मंगलबार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नेपालको शैक्षिक क्षेत्रको विकासमा चिनियाँ स्वयंसेवक शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ ।
काठमाण्डूमा आज बेलुकी आयोजित “चिनियाँ राजदूत छात्रवृत्ति“ पुरस्कार वितरण समारोह, २०२४ मा प्रमुख अतिथिको रुपमा बोल्नुहुँदै मन्त्री भट्टराईले सो विचार व्यक्त गर्नुभएको हो । चीन सरकारले नेपालका सरकारी तथा निजी विद्यालयहरुमा शिक्षण गर्न पठाएका चिनियाँ भाषा शिक्षकहरुले नेपाली विद्यार्थीहरुलाई भाषा, ज्ञान र सीप प्राप्त गर्ने अवसर सिर्जना गरेको बताउनुभयो । नेपालको शैक्षिक क्षेत्रको विकासमा चीन सरकारले ठूलो सहयोग गरेको बताउनुहुँदै मन्त्री भट्टराईले २०७२ सालको महाभूकम्पबाट प्रभावित जिल्लाहरूमा चीन सरकारले धेरै विद्यालयहरूको पुनर्निर्माणका लागि बजेट र प्राविधिक सहयोग उपलब्ध गराएको स्मरण गर्नुभयो ।

नेपालमा कार्यरत चिनियाँ श्वयंसेवक शिक्षकहरुको नयाँ कार्यकाल थप गर्ने विषयमा चिनियाँ राजदूतावासले प्रक्रिया अघि बढाएको विषयमा आफु जानकार रहेको बताउनुहुँदै मन्त्री भट्टराईले नेपालको प्रचलित कानुन बमोजिम आवश्यक सबै प्रशासनिक प्रक्रिया पूरा गरी सकेसम्म चाँडो एमओयूलाई अन्तिम रूप दिन समन्वय गरिरहेको जानकारी दिनुभयो ।
सो समारोहमा बोल्नुहुँदै नेपालका लागि चनियाँ राजदूत छन् सोङले विगत २० वर्षमा चीनबाट ९ सय ८५ जना चिनियाँ स्वयंसेवी शिक्षक नेपाल आएर भाषा शिक्षणमा योगदान पुर्याएको बताउनुभयो । चिनियाँ स्वयंसेवी शिक्षकहरुले नेपाल र चीनबीचको शैक्षिक आदानप्रदान र सहयोगको बलियो आधार बनाउँदै आएको राजदूत छन् सोङले जानकारी दिनुभयो । चीन र नेपाल उच्च गुणस्तरको संयुक्त निर्माण “बेल्ट एण्ड रोड“ र चीन–नेपाल रणनीतिक साझेदारीको खाकाको भव्य चित्र बिस्तारै प्रकट हुँदै गएको बताउनुहुँदै राजदूत छन् सोङले चिनियाँ भाषा अध्ययनरत नेपाली विद्यार्थीहरुले नेपालको राष्ट्रिय निर्माण र चीन-नेपाल मित्रतामा सक्रिय रूपमा सहभागी हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

समारोहमा चित्रकला, चिनियाँ गीत तथा नृत्य प्रतियोगिता, वक्तृत्वकला लगायतका विविध प्रतियोगितात्मक विधामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विभिन्न विद्यालयका विद्यार्थीहरुलाई नगद पुरस्कार, सिल्ड र सम्मानपत्र प्रदान गरिएको थियो । उक्त अवसरमा विभिन्न गीत र नृत्य समेत प्रस्तुत गरिएको थियो ।