RayNewsDaily
गाउँ उज्यालो बनाउँ परियोजना महत्वपूर्ण 

रमेश हतुवाली/काठमाण्डू । नेपालका पहाडी तथा ग्रामिण क्षेत्रमा सोलार प्यानलमार्फत उज्यालो उपलब्ध गराउँदै आएको चीनको “गाउँ उज्यालो बनाउँ” परियोजना महत्वपूर्ण रहेको सरोकारवालाहरुले बताएका छन् ।

नेपालस्थित चिनियाँ राजदूतावास, चीनको छोङछिङ ह्वायान मन्दिर र छोङछिङ महानगरपालिका अन्तर्गतको ह्वायान शिक्षा तथा संस्कृति फाउन्डेशनको संयुक्त पहलमा “गाउँ उज्यालो बनाउँ” परियोजनामार्फत नेपालका काभ्रे र रसुवा लगायतका जिल्लाहरुमा पुर्याईएको सहयोग र समर्थनका लागि सरोकारवालाहरुले सो परियोजनाको महत्वबारे बोलेका हुन् । 

काठमाण्डूमा हिजो मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनीहरुले सो परियोजनाको माध्यमबाट नेपाल र चीनबीचको सम्बन्ध जनस्तरसम्म विकसित भएको पनि बताएका छन् । परियोजनाले नेपालका दुर्गम पहाडी क्षेत्रका पाँच सय घरपरिवारलाई हरित र वातावरणमैत्री सौर्यबत्ती प्रदान गर्ने जनाएको छ । परियोजनाको पहिलो चरणमा बागमती प्रदेशको काभ्रेपालाञ्चोकको रोशी गाउँपालिकाका दुर्गम मिन्दुपा गाउँ र सिम गाउँका ८० वटा घरमा सोलार बत्ती जडान गरिएको छ । यसबाट गाउँलेको रात्रिकालीन जीवनलाई सहज बनाउनुका साथै विद्यार्थीलाई अध्ययनका लागि अनुकूल वातावरण सिर्जना भएको परियोजनाले जनाएको छ । सञ्चालित कार्यक्रमले गाउँलेको जीवनस्तर सुधार गर्दै शिक्षा र दिगो विकासको प्रवर्द्धनमा समेत मद्दत पुग्ने विश्वास लिइएको छ ।  

पत्रकार सम्मेलनमा बोल्नुहुँदै काभ्रे जिल्लाको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले “गाउँ उज्यालो बनाउँ” परियोजनाले नेपालजस्ता विकासोन्मुख र पहाडी मुलुकका जनताको जीवनमा नयाँ प्रकाश छरेको बताउनुहुँदै स्थानीय जनताको जीवनलाई सहज बनाएको धारणा व्यक्त गर्नुभयो । अहिले पनि टुकी बत्तीको सहाराले जीवन गुजारा गरिरहेका नागरिकलाई परियोजनाको माध्यमबाट नयाँ ऊर्जा प्रदान गर्ने उहाँले बताउनुभयो । 

दिनेश लामा, अध्यक्ष, रोशी गाउँपालिका, काभ्रे । 

 नेपालस्थित चिनियाँ दूतावासका काउन्सिलर छ वाङले सो परियोजनाले ग्रामीण जीवनलाई उज्यालो प्रदान गरेर सहज गर्नुका साथै दुई देशबीच जनस्तरको सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । काउन्सिलर वाङले सन् २०२६ मा नेपाल अविकसित मुलुकबाट अल्पविकसित मुलुकमा रुपान्तरण हुने र त्यसवेला चीनको बीआरआई परियोजनामार्फत दुवै देशका जनताको सपना पुरा गर्दै युवाको भविष्य निर्माणमा मिलेर अघि बढ्ने बताउनुभयो । 

छ वाङ, नेपालस्थित चिनियाँ दूतावासका काउन्सिलर    

चीनको छोङछिङ महानगरपालिका ह्वायान शिक्षा तथा संस्कृती फाउण्डेसनका महासचिव यिन लियाङले सौर्य बत्तीको प्रयोगले हरित ऊर्जा प्रविधिको प्रवर्द्धन, पारिस्थितिक सभ्यता निर्माण र दिगो विकासलाई समर्थन गर्न मद्दत पुग्ने बताउनुभयो ।   


. यिन लियाङ, महासचिव, ह्वायान शिक्षा तथा संस्कृती फाउण्डेसन

पत्रकार सम्मेलनमा बोल्नुहुँदै छोङछिङ ह्वायान टेम्पलका मठाधीस त आनले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक कालदेखि नै प्रगाढ रहेको बताउनुहुँदै नेपाल लगायत विश्वभरीका आर्थिक अवस्था कमजोर भएका मानिसहरुलाई परियोजनाले सहयोग गरिरहेको जानकारी दिनुभयो । 


 त आन, मठाधीस, छोङछिङ ह्वायान टेम्पल, चीन 

पत्रकार सम्मेलनमा “गाउँ उज्यालो बनाउँ” परियोजनाका म्यानेजर मन बहादुर तामाङ, रसुवा जिल्लाको आमाछोेदिङ्मो गाउँ पालिकाका उपाध्यक्ष चण्डिका तामाङ लगायतले परियोजनाले नेपालका दुर्गमा गाउँबस्तीमा पारेको सकारात्मक प्रभावबारे बोल्नुभएको थियो ।  


 

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update