RayNewsDaily
शेयर बजारमा सामान्य गिरावट

रे समाचार/काठमाण्डू । साताको अन्तिम कारोबार दिन आज शेयर बजारमा गिरावट आएको छ । अघिल्ला तीन कारोबार दिनदेखि बढिरहेको शेयर बजार मापक नेप्से परिसूचक आज ८.३० अंकले घटेर २७४८.०५ विन्दुमा झरेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ९ अर्ब ३१ करोडको शेयर खरिदबिक्री भएकोमा आज ८ अर्ब ५४ करोड ५५ लाख २५ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज तीनवटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । विशाल बजार कम्पनी, विन नेपाल लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, पाँचथर पावर कम्पनी र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । 

कारोबार रकमका आधारमा आज एक्सेल डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ३१ करोड ८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, नेपाल फाइनान्सको साढे २९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने मितेरी डेभलपमेन्ट बैंकको करिब २८ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज तीन वटा उपसमूहका परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update