काठमाण्डू । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आज चीनको सिचुवान प्रान्तस्थित छन्दुमा रहेको नेपाली महावाणिज्यदूतावासको निरीक्षण गर्नुभएकाे छ। त्यस अवसरमा उहाँलाई महावाणिज्यदूत सुरेश राउतसहितका कर्मचारीहरुले स्वागत गर्नुभएको थियो । मन्त्री डा राणालाई महावाणिज्यदूत राउतले महावाणिज्यदूतावासका कामकारबाहीका बारेमा जानकारी गराउनुभएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्री डा. राणाले आगामी वर्ष नेपाल र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसर पारेर नेपाल र चीन सरकारद्वारा संयुक्त रूपमा घोषणा गरिएको नेपाल भ्रमण वर्ष २०२५ को स्मरण गराउँदै यस पृष्ठभूमिमा महावाणिज्यदूतावासलाई नेपालको पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो ।
यस कार्यक्रमबाट दुवै देशको पर्यटन प्रवर्दधन हुनुका साथै जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो । मन्त्री डा राणाले नेपाली चिया, कफी, औषधिजन्य तथा सुगन्धित जडीबुटीजस्ता नेपालका विशिष्ट उत्पादनहरूलाई चिनियाँ बजारमा प्रवर्दधन गर्ने कार्यमा लाग्न निर्देशन दिनुभयो ।
त्यस अवसरमा मन्त्री डा. राणाले नेपाल चीन सम्बन्धलाई आर्थिक, सांस्कृतिक तथा जनस्तरमा थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको थियो । महावाणिज्यदूतावासमा आयोजित अन्तरक्रियामा चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओलीलगायत पनि सहभागी हुनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।