रे समाचार/काठमाण्डू । साताको पहिलो कारोबार दिन आज शेयर बजारमा गिरावट आएको छ । अघिल्लो कारोबार दिन गत बिहीबार घटेर बन्द भएको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
आज नेप्से परिसूचक ९.९९ अंकले घटेर २७३८.०६ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने सामान्य वृद्धि भएको छ । बिहीवार ८ अर्ब ५४ करोडको शेयर खरिदबिक्री भएकोमा आज ८ अर्ब ८३ करोड २२ लाख २५ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
आज ५ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । विशाल बजार कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी, एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । जानकी फाइनान्सको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
कारोबार रकमका आधारमा आज एक्सेल डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ३४ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर खरिदबक्री भएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलमेन्टको करिब २९ करोडको शेयर कारोबार भएको छ भने नेपाल फाइनान्सको कारोबार रकम २८ करोड नाघेको छ । १३ उपसमूहमध्ये आज ३ वटा उपसमूहको परिसूचक बढेको छ भने १० वटा उपसमूहको परिसूचक घटेको छ ।
आज विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । सो समूह ४.५ प्रतिशतले वृद्धि भएको छ । व्यापार समूह ९ प्रतिशतले बढेको छ । विशाल बजार कम्पनीको मूल्य १० प्रतिशत बढेकै कारण व्यापार समूहमा उच्च वृद्धि देखिएको हो । बैंकिङ १.४७, फाइनान्स २.९६, हाइड्रोपावर १.१४, लगानी १.१५, जीवन बीमा १.३५, उत्पादन ०.५७, माइक्रोफाइनान्स ०.९२, निर्जीवन बीमा ०.०१ र अन्य समूह १.३५ प्रतिशतले घटेको छ । होटल तथा पर्यटन समूहमा ०.३० प्रतिशतको गिरावट आएको छ