रे समाचार/काठमाण्डू । शेयर बजार आज सामान्य अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज १९.९७ अंकले बढेर २७५८.०४ विन्दुमा पुगेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो ८ अर्ब ८३ करोडको शेयर खरिदबिक्री भएकोमा आज १० अर्ब ५४ करोड १७ लाख ४६ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज ४ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
तारागाउँ रिजेन्सी होटल, विशाल बजार कम्पनी, खानीखोला हाइड्रोपावर र जोशी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र अप्पर लोहोरे खोला हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । नेपाल फाइनान्सको शेयरमूल्य भने आज सर्वाधिक ८.७२ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज नेपाल फाइनान्स नै शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको ५९ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, ङादी ग्रुप पावरको करिब ४९ करोडको शेयर किनबेच भएको छ भने जानकी फाइनान्सको साढे २७ करोडभन्दा बढी शेयर कारोबार भएको छ । १३ उपसमूहमध्ये आज ९ वटा उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ ।