रे समाचार/काठमाण्डू । शेयर बजार आज दोहोरो अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज १७.८० अंकले वृद्धि भई २७७५.८५ विन्दुमा पुगेको छ । नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ ।
हिजो साढे १० अर्बको शेयर खरिदबिक्री भएकोमा आज ८ अर्ब ५२ लाख १२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज ५ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । दिव्यश्वरी हाइड्रोपावर, इंगवा हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र सुपर मादी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयरमूल्य साढे ५ प्रतिशतले वृद्धि भएको छ भने ङादी ग्रुप पावरको शेयरमूल्य साढे ८ प्रतिशतले बढेको छ । अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य भने आज सर्वाधिक ९.५१ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २६ करोड ७५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसैगरी, जानकी फाइनान्सको साढे २६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने बेस्ट फाइनान्सको २४ करोडभन्दा बढीको शयर किनबेच भएको छ ।
१३ उपसमूहमध्ये आज ७ वटा उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक ५.९६ प्रतिशतले बढेको छ । यसैगरी, वित्त, जलविद्युत् र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक भने आज सर्वाधिक १.७१ प्रतिशतले घटेको छ ।