रे समाचार/काठमाण्डू । शेयर बजारमा आज गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज २४.९७ अंक घटेर २७५०.८७ विन्दुमा झरेको छ ।
नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ८ अर्ब ५२ करोडको शेयर खरिदबिक्री भएकोमा आज ९ अर्ब १३ करोड २४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । पछिल्ला ५ कारोबार दिनदेखि उच्च दरमा बढिरहेको व्यापार उपसमूहमा आज करेक्सन देखिएको छ । सो उपसमूहको परिसूचक सर्वाधिक ८.७२ प्रतिशतले घटेको छ । १३ वटा उपसमूहमध्ये आज ३ उपसमूहको परिसूचक बढेको छ भने १० वटा उपसमूहको परिसूचक घटेको छ । जलविद्युत्, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक सामान्य वृद्धि भएको छ । विकास बैंक, वित्त र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेका छन्।
आज दुई वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । खानीखोला हाइड्रोपावर र जोशी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, रिभर फल्स पावर, इंगवा हाइड्रोपावर र स्वाभिमा लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था र लाइफ इन्स्योरेन्स कर्पोरेशनको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी विशाल बजार कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ ।
कारोबार रकमका आधारमा आज जोशी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३० करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे २९ करोडको शेयर खरिदबिक्री भएको छ भने आँखुखोला जलविद्युत्को करिब २७ करोडको शेयर किनबेच भएको छ ।