रे समाचार/काठमाडौं । भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्नुभएको छ । आज बिहान निजी भ्रमणका लागि नेपाल आइपुग्नुभएका भुटानी नरेश वाङचुकले बौद्ध धर्मावलम्बीहरूको महत्वपूर्ण तीर्थस्थलहरूको भ्रमण गर्नुभएको हो ।
स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले स्वयम्भूनाथ परिसरमा भुटानी नरेशलाई स्वागत गर्नुभएको थियो । करिब आधा घण्टा त्यहाँ रहनुभएको भुटानी नरेशले स्वयम्भूनाथ परिसरबाट काठमाडौँ उपत्यकाको दृश्यावलोकन गर्नुभयो ।
भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङ्चुकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा । तस्बिर : रासस
आज बिहान नेपाल आइपुग्नुभएका भुटानी नरेशलाई परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । काठमाडौं ओर्लिनासाथ भुटानी नरेश स्वयम्भूनाथ दर्शनका लागि जानुभएको थियो । त्यसपछि बौद्धनाथ दर्शन गर्नुभएको थियो । भारतबाट स्वदेश फर्कने क्रममा काठमाडौँ आउनुभएका भुटानी नरेश आजै स्वदेश फर्कनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतबाट स्वदेश फर्कने क्रममा काठमाडौँ आउनुभएका भुटानी नरेश वाङचुक आजै स्वदेश फर्कनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।