RayNewsDaily
एनपिएल : कर्णाली याक्सद्वारा चितवन राइनोज पराजित        

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले पहिलो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले हराएको हो । यसअघि कर्णालीले दुई खेलमा हार ब्यहोरेको थियो ।     
     
चितवन राइनोजले कर्णाली याक्सलाई जितका लागि एक सय ३१ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य कर्णाली याक्सले १९ दशमलव पाँच ओभरमा चार विकेट गुमाउँदै पूरा गरेको हो । कर्णालीका लागि शिखर धवनले सर्वाधिक ४५ रन बनाए । उनले ४१ बल खेल्ने क्रममा एक छक्का र चार चौका प्रहार गरे । यस्तै चाडविक वाल्टनले ३०, देव खनालले २५, जिशान मकसूदले १२ र अर्जुुन घर्तीले ११ रनको योगदान दिए ।     
     
बलिङतर्फ चितवनका लागि कप्तान कुशल मल्ल, रवि बोपारा र जान निकोल लोफ्टी–इटनले एक एक विकेट लिए ।     
     
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३० रन बनाएको थियो । चितवनका लागि रवि बोपाराले अविजित रहँदै अर्धशतकीय पारी खेले । उनले ४० बलमा एक छक्का र सात चौकाको मद्दतमा ५९ रन बनाए । कप्तान कुशल मल्लले २३, विपिन रावलले ११, जान निकोल लोफ्टी–इटन र अमर रौतेलाले नौ नौ तथा दीपक बोहोराले आठ रन बनाए ।     
     
बलिङतर्फ कर्णाली याक्सका लागि विपिन शर्माले तीन, जिशान मकसूदले दुई तथा नन्दन यादव र कप्तान सोमपाल कामीले एक एक विकेट लिए । चितवनले यसअघि दुई खेल जितेको थियो ।     
     
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अहिले लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच अर्को खेल भइरहेको छ । लुम्बिनीले टस जितेर अहिले ब्याटिङ गरिरहेको छ । रासस

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update