रे समाचार/काठमाडौं । शेयर बजारमा आज उच्च गिरावट आएको छ । साताको पहिलो कारोबार दिन आज शेयर बजार मापक नेप्से परिसूचक ४५.९३ अंकले घटेर २६८९ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ ।
अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ८ अर्ब ३६ करोडको शेयर खरिदबिक्री भएकोमा आज ७ अर्ब ४६ करोड ३ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आज खानीखोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, दोल्ती पावर कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशतले बढेको छ । आज तीनवटा स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । मानुषी लघुवित्त वित्तीय संस्था, लाइफ इन्स्योरेन्स कर्पोरेशन र जोशी हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३२ करोड ६४ लाख ६१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसैगरी, नेपाल फाइनान्स र रिभर फल्स पावरको साढे १५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने खानीखोला हाइड्रोपावरको करिब १४ करोडको शेयर खरिदबिक्री भएको छ । आज १३ वटै उपसमूहको परिसूचक घटेको छ । घटेकामध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.०७ प्रतिशतले घटेको छ ।