काठमाडौं । सङ्घीय संसद् को १८औँं स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी भएको छ ।
भृकुटीमण्डपस्थित फुटसल मैदानमा भएको खेलमा प्रतिनिधिसभाले शून्यकाविरुद्ध १३ गोलले राष्ट्रिय सभालाई पराजित गरेको हो । प्रतियोगितामा सबैभन्दा धेरै प्रतिनिधिसभा सदस्य मोहन आचार्यले पाँच गोल गर्नुभयो । त्यसैगरी तारा लामाले तीन, माधव सापकोटा र सुहाङ नेम्वाङले समान दुई र मनिष झाले एक गोल गर्नुभयो ।
प्रतियोगिताको पहिलो हाफमा प्रतिनिधिसभाले नौ गोलको अन्तर कायम गरेको थियो । दोस्रो हाफमा थप चार गोल गरेपछि प्रतिनिधिसभाको टोली १३ गोल अन्तरले विजयी भयो ।
प्रतिनिधिसभा टिमको नेतृत्व सभामुख देवराज घिमिरे र राष्ट्रियसभा टिमको नेतृत्व अध्यक्ष नारायणप्रसाद दाहालले गर्नुभएको थियो । प्रतिनिधिसभाको टिममा उपसभामुख इन्दिरा राना तथा सांसदहरु मोहन आचार्य, माधव सापकोटा, मनिष झा, निशा डाँगी, बिना लामा, तारा लामा तामाङ, सुहाङ नेम्वाङलगायत हुनुहुन्थ्यो । राष्ट्रियसभा टिममा उपाध्यक्ष विमला घिमिरे, सांसदहरु धनश्याम रिजाल, विष्णुकुमारी सापकोटा, पदमबहादुर परियार, भगवती न्यौपाने, तुलसाकुमारी दाहाल, गोपीबहादुर सार्की अछामी, नरबहादुर विष्टलगायत सांसदहरु हुनुहुन्थ्यो ।
यसैबीच, आजै संसद् सेवाका कर्मचारी र त्यहाँ खटिएका सुरक्षाकर्मी (मर्यादापालक) को बेग्लाबेग्लै टिमबीच पनि मैत्रीपूर्ण फुटसल भइरहेको छ । संसद् सेवा दिवस मङ्सिर २८ गते विभिन्न कार्यक्रम गरी मनाइँदै छ । रासस