महोत्तरी । लगातार चिसो सिरेटो बहिरहेर चारैतिर बाक्लो हुस्सुले डम्म ढाकेपछि महोत्तरीसहितका मधेशका जिल्लामा जाडो निकै बढेको छ ।
मङ्सिर अन्तिम साताको प्रारम्भसँगै मौसम चिसिँदै गएपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । “गहुँ छर्ने अन्तिम तयारी गर्नुछ, अब उखु कटानको धमाधम पर्छ, हिउँदेबाली लगाउन भ्याइनभ्याइ पर्ने बेला घरबाट निस्कन सकिएको छैन”, बर्दिबास-१३ का किसान ठकाइ महतो भन्नुहुन्छ, “पुस नलाग्दै बढेको चिसोले काम सबै अलपत्र छ ।”
चिसोले कठ्याङ्ग्रिएर कुनै काममा हात नलाग्दा समयमा खेतीपातीका काम नसकिने चिन्ताले किसानलाई पिरोलेको छ । महोत्तरीसहितका मधेशका जिल्लामा पूर्व-पश्चिम राजमार्गभन्दा तलतिर हुस्सु र चिसोको कहर बढी छ । पुस पहिलो सातापछि बढ्ने हुस्सु केही वर्षयता मध्य मङ्सिरदेखि नै डम्म लाग्ने गरेको जलेश्वर-५ किसान रहिमन मण्डल बताउनुहुन्छ ।
मधेश गर्मी अलि बढी हुने ठाउँ भए पनि जाडो यतिसारो पहिले नभोगिएको मण्डलको अनुभव छ । उत्तरी क्षेत्रमा बिहान १० बजेतिर हुस्सु फाट्दै गएर घाम देखिए पनि दक्षिणतर्फ मध्य र सुदूरदक्षिणी भेगमा अपरान्हसम्म दिन हो कि रात छुट्याउन नसकिने सर्वसाधारण बताउँछन् । अपरान्हपछि हुस्सु हट्दै गए पनि कतिपय दिन घामै नदेखिएर साँझ पर्ने गरेको जलेश्वर-२ की शिला यादव बताउनुहुन्छ ।
मङ्सिरभित्रै बढेको चिसोले घरपालुवा पशुवस्तुको विजोग बन्दैछ । पशुवस्तुको आहाराको जोहो र चरनमा लैजान नपाइँदा समस्या भएको भङ्गाहा-४ रामनगरकी भैसीपालक किसान हिरादेवी दाहालको भनाइ छ । धेरै बढेको चिसोले पशुवस्तु जिङ्राउने र बिरामी हुने क्रम बढेको दाहालले बताउनुभयो ।
यसैगरी बढ्दो जाडोले व्यापार पनि चौपट भएको व्यापारी बताउँछन् । अहिले मङ्सिर नसकिँदै चिसोले घर बाहिर निस्कन नदिएपछि पुस, माघ कस्तो होला भन्ने सम्झनाले नै अत्यास लाग्ने गरेको सर्वसाधारणको भनाइ छ । अहिलेको जाडोको कहरले ससाना नानी, पाका उमेरका वृद्धवृद्धा , गर्भवती र सुत्केरी महिलालाई स्वास्थ्य जोखिम बढ्दो छ ।
खासगरी श्वासप्रश्वासका बिरामीलाई यो मौसमले बढी च्याप्ने हुँदा स्याहारमा ध्यान दिनपर्ने बर्दिबास अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सुदिप ठाकुर बताउनुहुन्छ । यो चिसिँदो मौसमले गरिब बस्ती कष्टकर अवस्थामा पुगेका छन् । चिसोले जनजीवन कष्टकर बनाउन थालेपछि गरिब र दलित बस्तीमा तत्काल आगो बाल्न काठका सुकेका मुडा, खानपिनका सामग्री र न्यानो लुगाको सहयोग जुटाउने कार्यमा पहलकदमी लिन स्थानीय तहसँग सामाजिक सङ्घ संस्थाले आग्रह गरेका छन् ।
यसैगरी जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लाल कर्णले जिल्लाका १५ वटै स्थानीय तह र जिल्ला दैवी प्रकोप उद्धार समितिसँग चिसोबाट बर्सेनि हुँदै आएको जनधनको क्षति यसपाली हुन नदिन पूर्व सतर्कता र आवश्यक तयारीका लागि आग्रह गर्नुभएको छ ।
तराईमा हुस्सु र सितलहरसँगै चिसो बढ्यो
पूर्वी तराईका विभिन्न जिल्लामा हुस्सु र शीतलहरसँगै आज बिहानैदेखि चिसो बढेको छ । दिउँसोको समयमा विगत एक सातादेखि मधुरो घाम लाग्दै आएको छ भने अहिले बिहानैदेखि हुस्सु लागेको हो ।
पूर्वी तराईमा घाम लाग्न छाडेपछि शीतलहर सुरु हुने गर्दछ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार तापक्रम घट्दै जाने भएकाले चिसो थप बढ्ने छ । महाशाखाका अनुसार देशका मध्य, मध्यपश्चिम र पूर्वी तराई-मधेशका जिल्लामा हुस्सु तथा कुहिरो लाग्न थालेको छ ।
चिसोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असाह्य, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । चिसोले बिहान स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । बिहानै खुल्ने पसल र बजार पनि चिसो बढेकाले ढिलो गरी खुलिरहेका सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कार्कीले जानकारी दिनुभयो ।
उहाँले साँझपख पनि चिसो झनै बढ्न थालेपछि बजार चाँडैै सुनसान हुन थालेको उल्लेख गर्नुभयो । यहाँ न्यानो कपडाका पसल तथा सकडपेटीका पसलमा ग्राहकको भीड बढेको छ । सडकपेटीमा लुगा पाउने गरेकाले ग्राहकको भीड लाग्न थालेका छन् । कठङ्याङ्गिदो चिसोसँगै हुस्सु लाग्दा सवारीसाधन चलाउन पनि समस्या भएको सवारी चालक सुन्दरहरैँचाका अशोक रिजाल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सवारी साधन कम गतिमा बत्ती बालेर गुड्नुपरेको छ, हुस्सुले दुर्घटनाको जोखिम हुन्छ, त्यसैले सावधानीपूर्वक सवारी चलाउने गर्छौँ ।”
चिसोकै कारण बिरामीसमेत बढेका छन् । चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेका हुन् । जिल्ला अस्पतालमा बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, फोक्सो, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले गर्दा बढेका छन् । बाक्लो हुस्सु लागेपछि जिल्ला सदरमुकाम विराटनगर आउने हवाई उडान खराब मौसमका कारण सेवा प्रभावित हुन थालेको छ । रासस