रे समाचार/काठमाडौं । केही दिनदेखि घट्दो क्रममा रहेको शेयर बजारमा आज उच्च अंकको गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ५१.३७ अंकले घटेर २६३०.९१ विन्दुमा झरेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ६ अर्ब १४ करोडको शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब ९३ करोड ५६ लाख ४ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
यसैगरी, जोशी हाइड्रोपावरको शेयरमूल्य ८.७० प्रतिशतले वृद्धि भएको छ । जानकी फाइनान्सको शेयरमूल्य सर्वाधिक ९.५८ प्रतिशतले घटेको छ भने नेपाल फाइनान्सको शेयरमूल्यमा करिब साढे ७ प्रतिशतको गिरावट आएको छ । कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २६ करोड ४५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसैगरी, जोशी हाइड्रोपावरको करिब १९ करोडको शेयर किनबेच भएको छ भने जानकी फाइनान्सको करिब साढे १८ करोडको शेयर खरिदबिक्री भएको छ ।
आज १३ वटै उपसमूहका परिसूचक घटेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.४१ प्रतिशतले घटेको छ । यसैगरी, व्यापार उपसमूहको परिसूचक साढे ३ प्रतिशत घटेको छ भने विकास बैंक, होटल तथा पर्यटन र जलविद्युत् उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ । बैंकिङ्ग, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।