रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजारमा उच्च गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक घटेसँगै २६०० विन्दुभन्दा तल झरेको छ ।
नेप्से परिसूचक करिब साढे २ महिनापछि २६०० विन्दुभन्दा तल झरेको हो । आज नेप्से परिसूचक ३१.४३ अंक घटेर २५९६.८२ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब २७ करोडको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब ७६ करोड २ लाख ६७ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले वृद्धि भएको छ । यसैगरी, सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ८ प्रतिशतले बढेको छ भने भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ५ प्रतिशतले बढेको छ । नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य भने आज सर्वाधिक ९.२१ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज जानकी फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको १७ करोड ६० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, कर्णाली डेभलपमेन्ट बैंकको करिब साढे ११ करोडको शेयर खरिदबिक्री भएको छ भने नेपाल फाइनान्सको १० करोडभन्दा बढीको शेयर किनबेच भएको छ । आज १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.७३ प्रतिशतले घटेको छ ।