रे समाचार/पोखरा । आगामी आइतबारदेखि हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय ड्रागन डुंगा दौड प्रतियोगिता २०२४ मा सहभागी हुने प्रतियोगीलगायत सरकारी तथा गैरसरकारी अधिकारी, सञ्चारकर्मी बोकेको सछुवान एयरलाइन्सको चार्टर्ड विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
चीनको छ्न्तुबाट उडेको सछुवान एयरलाइन्सको विमान आज बिहान पौने १० बजे पोखरा विमानस्थलमा अवतरण गरेको हो । उक्त विमानमा दोस्रो अन्तर्राष्ट्रिय ड्रागन डुंगा दौड प्रतियोगिता २०२४ मा सहभागी हुने प्रतियोगीलगायत सरकारी तथा गैरसरकारी अधिकारी, सञ्चारकर्मी गरी १ सय २६ जना पोखरा आएका छन् । सछुवानको पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलमा यो तेस्रो चार्टर उडान हो । यसअघि चीन, भुटान र भारतबाट सातवटा चार्टर्ड र तीनवटा अन्य अन्तर्राष्ट्रिय उडान सम्पन्न भएका छन् ।
दोस्रो अन्तर्राष्ट्रिय ड्रागन डुंगा दौड प्रतियोगिता २०२४ मा सहभागी हुन आएका पाहुनाहरुलाई आयोजक संस्थाका तर्फबाट शनिबार साँझ पोखरा इभेन्ट सेन्टरमा उनीहरूको सम्मानमा रात्रिभोज आयोजना गर्दैछ । यस पटकको ड्रागन डुंगा दौड प्रतियोगिता २०२४ मा २० वटा टोलीको सहभागिता रहेको छ । जसमा ११ वटा नेपाली, ८ वटा चिनियाँ र एउटा सिंगापुरको समूहले सहभागिता जनाएका छन् ।
ड्रागन डुंगा दौड प्रतियोगितामा सहभागी हुने चिनियाँ टोली पोखरा पुग्यो, सछुवान एयरलाइन्सको चार्टर्ड विमानमार्फत पोखरा पुगेका १ सय २६ जना चिनियाँ पाहुना विभिन्न कार्यक्रममा सहभागी हुने ।।
दौड २ सय मिटर र ५ सय मिटर दूरीमा आयोजना गरिनेछ । जसमा प्रतियोगिताको दुवै दुरीका प्रथम हुने विजेता समूहले ५ हजार अमेरिकी डलर, उपविजेताले २ हजार डलर र तृतीयले १ हजार २ सय डलर पुरस्कार पाउने छन् । सहभागी बाँकी १७ समूहलाई प्रतिसमूह ५ सय डलर दिइनेछ । अन्तर्राष्ट्रिय डुंगा दौड प्रतियोगिता २०२४ को औपचारिक सुरुवात यही आउने आइतबार बिहान ९ बजे लेक साइडमा हुँदैछ । प्रतियोगिताअन्तर्गत बिहान पौने १० बजे २०० मीटर र ११ बजे पाँच सय मिटर सोझो डुंगा दौड हुनेछ । सोमबार बिहान साढे ९ बजेदेखि २०० मिटरको सेमिफाइनल र १० बजे फाइनल दौड हुने छ ।
अन्तर्राष्ट्रिय डुंगा दौड प्रतियोगिता २०२४ को आयोजना काठमाण्डूस्थित चिनियाँ दूतावास, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकारले संयुक्त रुपमा आयोजना गरेका हुन् ।