रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार सामान्य अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ४.१९ अंक बढेर २६३०.७१ विन्दुमा पुगेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य वृद्धि भएको छ । अघिल्लो कारोबार दिन अर्थात् मंगलबार ५ अर्ब २० करोडको शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब ३२ करोड ९२ लाख ७४ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आज दुई वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब साढे ७ प्रतिशतले बढेको छ भने प्रभु बैंकको शेयरमूल्य करिब ६ प्रतिशतले वृद्धि भएको छ । आज ४ वटा स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र जोशी हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
कारोबार रकमका आधारमा आज प्रभु बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ५० करोड ७७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, जानकी फाइनान्सको २२ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको १५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । १३ वटा उपसमूहमध्ये आज ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.३१ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, बैंकिङ्ग उपसमूहको परिसूचक करिब २ प्रतिशतले बढेको छ ।