भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिकाले नागरिकलाई सहजरूपमा सेवा विस्तार गर्ने लक्ष्यले वडावडामै योजना सम्झौता गरेको छ । जनतालाई घरदैलोमा नै पुगेर सेवा दिने गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रमअनुसार शिविर सञ्चालन गरेर सेवा प्रवाह गरेको हो ।
गाउँपालिकाले ‘योजना तथा कार्यक्रम सञ्चालन शिविर’ मार्फत वडास्तरमा पुगेर योजना सम्झौता गरेको छ । शिविरमार्फत गाउँपालिका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई, प्रमुख प्रशासकीय अधिकृत सन्तोष पोखरेलसहित सम्बन्धित शाखाका कर्मचारी वडा कार्यालयमा पुगेर योजना सम्झौता गरिएको गाउँपालिकाका योजना शाखा प्रमुख ज्ञानराज भट्टराईले जानकारी दिनुभयो ।
शिविरिमार्फत उपभोक्ता समितिलाई योजना सञ्चालनको विषयमा अभिमुखिकरण, योजना सञ्चालन पद्धति तथा योजना सञ्चालन प्रक्रियाको विषयमा समेत जानकारी दिइएको उहाँको भनाइ छ । यो क्रममा वडा नं. १ ओख्रेमा १४ वटा, वडा नं. ४ दलगाउँमा ९ वटा, वडा नं. ८ खोक्सिकमा ११ वटा योजना योजना सम्झौता गरिएको छ । वडा नं. २ र ३ ले यसअघि नै योजना सम्झौता गरी सकेका छन् । पालिका केन्द्र नजिक रहेका वडा नं. ५ मानेभञ्ज्याङ र वडा नं. ६ वैकुण्ठेका योजना भने गाउँपालिकामा नै सम्झौता गरिने जनाइएको छ । वडा नं. ७ मा पनि तत्कालै योजना सम्झौता शिविर सञ्चालन गरिने गाउँपालिकाको भनाइ छ ।
राससका अनुसार गाउँपालिकाका भौगोलिक रूपमा विकट क्षेत्रमा रहेका शिविर सञ्चालन गरेर वडास्तरमा नै योजना सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष पोखरेलले बताउनुभयो । शिविरका क्रममा प्रभावकारी रूपमा योजना सञ्चालन सम्बन्धि अभिमुखीकरण गराइएको उहाँको भनाइ छ । “भौगोलिक रूपमा टाढा रहेका उपभोक्ताई सहजरूपमा सेवा दिन वडास्तरमा पुगेर योजना सम्झौता गरेका छौँ”, प्रशासकीय अधिकृत पोखरेलले भन्नुभयो, “यसले उपभोक्तालाई सहजतासँगै समयको पनि बचत भएको छ । त्योसँगै हामीले अभिमुखीकरण गरेर योजना सञ्चालन पद्धतिको विषयमा समेत जानकारी दिएका छौँ । यसले योजना गुणस्तरीय ढङ्गले समयमा सम्पन्न हुन्छन् भन्ने हामीले अपेक्षा लिएका छौँ ।” गाउँपालिकाबाट सम्झौता भएका योजनालाई आगामी चैत मसान्तभित्रनै सक्ने लक्ष्यका साथ काम अघि बढाएको उहाँको भनाइ छ ।
नागरिकलाई गाउँपालिकाबाट प्रवाह हुने सेवालाई सहज, सरल, छिटो, छरितो र प्रभावकारी ढङ्गले पुर्याउने लक्ष्यले शिविर सञ्चालन गरेर सेवा प्रवाह गरिएको गाउँपालिका उपाध्यक्ष वीरेन्द्र राईले बताउनुभयो । वडावडामा पुगेर योजना सम्झौतासँगै सञ्चालनका सम्पूर्ण प्रक्रियाका विषयमा उपभोक्ता समितिलाई जानकारी दिएको योजनाको प्रभावकारिता बढ्ने उहाँको भनाइ छ । गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रमअनुसार जनतालाई सहजरूपमा घरदैलोमा सेवा प्रवाह गर्ने उद्देश्यले शिविर सञ्चालन गरेर वडावडामा नै योजना सम्झौता गरिएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो । यहाँबाट प्रवाह हुने सेवालाई सहज र सरलरूपमा नागरिकसम्म पुर्याउन गाउँपालिकाले योजनाबद्ध रूपमा काम गरिरहेको अध्यक्ष राईको भनाइ छ ।
“नागरिकलाई सहज र सरलरूपमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ काम गरिरहेका छौँ”, अध्यक्ष राईले भन्नुभयो, “हाम्रा धेरै वडाहरू भौगोलिक रूपमा दुर्गम क्षेत्रमा पर्छन् । ती स्थानबाट पालिकासम्म आउँदा उपभोक्ताको धेरै समय र पैसाको खर्च हुन्छ । नागरिकको समस्यालाई ध्यानमा राखेर स्थानीय सरकारको सेवा घरदैलोमा पुर्याउन जुटेका छौँ ।”