रे समाचार/काठमाडौं । शेयर बजार आज उच्च अंकले घटेर परिसूचक २५ सय विन्दुभन्दा पनि तल झरेको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ३३.०८ अंकले घटेर २५७६.५० विन्दुमा झरेको छ ।
नेप्से घटे पनि आज कारोबार रकम भने सामान्य वृद्धि भएको छ । अघिल्लो कारोबार दिन ५ अर्ब ४७ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब ६७ करोड ४६ लाख ८६ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आज नाडेप लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४.०१ प्रतिशतले र उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४ प्रतिशतले बढेको छ । आज ४ वटा स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, जानकी फाइनान्स, पोखरा फाइनान्स र नारायणी डेभलपमेन्ट बैंकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
कारोबार रकमका आधारमा आज पनि प्रभु बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ३५ करोड ९४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, नेपाल फाइनान्सको करिब १८ करोडको शेयर किनबेच भएको छ भने जानकी फाइनान्सको करिब साढे १४ करोडको शेयर खरिदबिक्री भएको छ । १३ उपसमूहमध्ये आज एउटा उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ ।