RayNewsDaily
शेयर बजार सामान्य वृद्धि

रे साचार/काठमाडौं । शेयर बजार आज सामान्य अंकले वृद्धि भएको छ । पछिल्ला दुई कारोबार दिन घटेर बन्द भएको शेयर बजार मापक नेप्से परिसूचक ५.१० अंकले वृद्धि भई २५८१.६० विन्दुमा पुगेको छ ।  

नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो साढे ५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा आज ३ अर्ब ५९ करोड ७४ लाख ४५ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आज त्रिशूली जलविद्युत् कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी, आत्मनिर्भर लघुवित्त र सुपर मादी हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंक र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । सपोर्ट माइक्रोफाइनान्सको शेयर भने आज नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २१ करोड ८२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, जानकी फाइनान्सको साढे ९ करोडभन्दा बढीको र त्रिशूली जलविद्युत्को ९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

१३ वटा उपसमूहमध्ये आज ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ । आज वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.८७ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, विकास बैंक र जलविद्युत् उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ । बैंकिङ्ग, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचकमा भने सामान्य गिरावट आएको छ । 
 

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update