
रमेश हतुवाली/काठमाण्डू । दोस्रो दक्षिण एशियाली अन्तर्राष्ट्रिय पुस्तक मेला, २०२५ काठमाण्डूमा सुरु भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, करेन्ट मिडिया एण्ड रिसर्च सेन्टरको आयोजना तथा चाईना इन्टरनेस्नल बुक ट्रेडिङ्ग कर्पोरेशनको सह-आयोजनामा सुरु भएको सो मेलामा बोल्नुहुँदै विज्ञहरुले पठन् संस्कृतिको बानी बसाल्ने उद्धेश्यले मेला आयोजना गरेको बताउनु भयो ।

मेला शुभारम्भ गर्नुहुँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले डिजीटल प्रविधिले पुस्तकलाई छायाँमा पारेको जस्तो देखिए पनि पुस्तकको महत्व अन्नत भविष्यसम्म रहने बताउनुभयो । पुस्तकबाट गहीरो र दीर्घकालिन ज्ञान प्राप्त हुने भएकाले यसको भविस्य सुनिश्चित गर्न पुस्तक नीति बनाउन आफुले योगदान गर्ने जानकारी दिनुभयो ।

नेपालका लागि चिनियाँ राजदूत छन् सोङले दोस्रो दक्षिण एशियाली अन्तर्राष्ट्रिय पुस्तक मेला काठमाण्डूमा सुरु हुनु महत्वपूर्ण भन्दै नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्षको अवसरमा आयोजना गरिने विभिन्न कार्यक्रमहरु मध्ये यो पनि एक भएको बताउनुभयो । राजदूत छन् सोङले पुस्तक मेलामा सहभागी हुनुभएका विभिन्न देशका विज्ञहरुबीच यस क्षेत्रमा देखिएका विभिन्न समस्या र अवसरहरुका बारेमा अनुभव आदान प्रदान गर्न र आपसी सहयोगको भावनालाई सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका अध्यक्ष शिव सागर शर्माले पुस्तक पढ्ने बानी विस्तारै हराउँदै गएको अवस्थामा पुस्तकको महत्व, पुस्तकले दिने ज्ञान र चेतना लगायतका विषयमा जानकारी गराउने उद्धेश्यले मेला आयोजना गरिएको बताउनुभयो ।

करेन्ट मिडिया एण्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक किरण गौतमले लामो समयदेखि कायम रहेको आर्थिक मन्दी, सरकारको पुस्तक व्यवसायी प्रतिको उदासिनता लगायतका विभिन्न समस्याहरुका बाबजुत पनि नेपाली समाजमा हराउँदै गएको पुस्तक अध्ययन गर्ने बानीलाई लयमा फर्काउन मेलाको आयोजना गरिएको जानकारी दिनुभयो ।

चाईना इन्टरनेस्नल बुक ट्रेडिङ्ग कर्पोरेशनका उपाध्यक्ष वाङ थोङले सुन्दर शहर काठमाण्डूमा पुस्तक मेलाको आयोजना गर्न पाउँदा खुशी लागेको जानकारी दिनुभयो । मेलामा सहभागी विभिन्न संस्थाका पदाधिकारी र चिनियाँ प्रकाशन गृहका पदाधिकारीहरुबीच अनुभव आदान प्रदान र भविष्यमा हुन सक्ने सहयोग लगायतका विषयमा छलफल गर्न मेला महत्वपूर्ण हुने उपाध्यक्ष वाङ थोङको भनाइ छ ।

काठमाण्डूको भृकुटी मण्डपमा पुस २१ गतेसम्म सञ्चालन हुने सो मेलामा नेपाल, चीन, भारत, जिम्बाबे, थाइल्याण्ड, श्रीलंका, क्यानडा र बंगलादेशका प्रकाशक तथा लेखकहरूको सहभागिता रहेको छ ।

