रमेश हतुवाली/काठमाण्डू । नेपाल कानून व्यवसायी परिषद्ले एक भव्य समारोहबीच १ सय ५९ जना अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको प्रमाणपत्र वितरण गरेको छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको प्रमुख आतिथ्यतामा हिजो शुक्रबार बेलुकी काठमाण्डूमा सो प्रमाणपत्र वितरण गरिएको हो । सो समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानन्यायाधीश राउतले वरिष्ठ अधिवक्ताको प्रमाणपत्र प्राप्त गर्ने सबैलाई शुभकामना व्यक्त गर्नुभयो । वरिष्ठ अधिवक्ताको प्रमाणपत्र प्राप्त गर्नु महत्वपूर्ण भए पनि आगामी दिनमा पेशागत गरिमा र उच्च मर्यादा कायम गर्दै पेसालाई अघि बढाउनु आवश्यक रहेको राउतले बताउनुभयो । वरिष्ठताको उपाधिले सँधै मर्यादा खोज्ने हुनाले मान, शान, ओज र लाज राखेमात्र वरिष्ठताको मर्यादा कायम हुने प्रधान्यायाधिश राउतको भनाइ थियो ।
प्रकाशमान सिंह राउत, प्रधानन्यायाधीश । फोटो : रमेश हतुवाली
नेपाल कानून व्यवसायी परिषद्का अध्यक्ष तथा महान्यायाधिवक्ता रमेश बडालले शुभकामना व्यक्त गुर्नहुँदै मुद्धा छिटो र छरितो ढंगले टुङ्याउन पनि कानून व्यवसायीहरु लाग्नु पर्ने बताउनुभयो । महान्यायाधिवक्ता बडालले वरिष्ठहरुले वहस पैरवीका क्रममा एकजना सहयोगीलाई अनिवार्य रुपमा सहभागी गर्नुपर्ने मान्यतालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
रमेश बडाल, अध्यक्ष, नेपाल कानून व्यवसायी परिषद् । फोटो : रमेश हतुवाली
नेपाल कानून व्यवसायी परिषद्का उपाध्यक्ष तथा नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेले लोकतन्त्र बाँचे सम्म न्यायपालिका बाँचिरहने बताउनुभयो । बार र वेञ्चको सम्बन्ध सँधै प्रगाढ हुनुपर्नेमा जोडदिनुहुँदै अध्यक्ष घिमिरेले नेपाल बार एशोसिएशन न्यायपालिकाको एउटा अंग भएको पनि बताउनुभयो ।
गोपाल कृष्ण घिमिरे, अध्यक्ष, नेपाल बार एशोसिएशन । फोटो रमेश हतुवाली
समारोहमा शुभकामना मन्तब्य व्यक्त गर्नुहुँँदै नेपाल कानून व्यवसायी परिषद्का पार्षद् वरिष्ठ अविधक्ता डा. चन्द्रकान्त ज्ञवालीले नेपालमा हालसम्म ७ सय ६ जना कानून व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरिएको जानकारी दिनुभयो । नेपालमा अहिलेसम्म ३४ जना महिलाहरुलाई वरिष्ठ अधिवक्ताको उपाधिबाट सम्मानित गरिएको बताउनुहुँदैै डा. ज्ञवालीले छिमेकी देश भारतमा भन्दा नेपालमा संख्यात्मक रुपमा धेरै वरिष्ठ अधिवक्ताहरु रहेको जानकारी पनि दिनुभयो ।
नेपाल कानून व्यवसायी परिषद्वारा १ सय ५९ जना अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको प्रमाणपत्र वितरण, वरिष्ठताको उपाधिले सँधै मान, शान, ओज र मर्यादा खोज्ने प्रधानन्यायाधीश राउतको भनाइ ।।
समारोहमा वरिष्ठ अविवक्ता पूर्णिमा रिमालले न्याप दिन प्रतिदिन महंगो भएकोमा चिन्ता व्यक्त गर्नुभयो । वरिष्ठ अविवक्ता दिनमणी पोख्रेलले सर्वोच्च अदालतले विश्वास गरेर वरिष्ठ अविवक्ताको उपाधि प्रदान गरेको हुनाले त्यसको मर्यादा राख्न सबैलाई आग्रह गर्नुभयो ।