रे समाचार/काठमाडौं । शेयर बजार आज सामान्य अंकले वृद्धि भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि सामान्य अंक वृद्धि भएको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
आज नेप्से परिसूचक ५.३२ अंक बढेर २५९१.५६ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य वृद्धि भएको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ४ अर्ब ६० करोडको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब ८६ करोड २ लाख १ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज तीनवटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । उपकार लघुवित्त वित्तीय संस्था, दोर्दी खोला जलविद्युत् कम्पनी र ग्रिन भेन्चर्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, दोल्ती पावर कम्पनी र ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य भने आज सर्वाधिक ८.८८ प्रतिशतले घटेको छ । यसैगरी, आत्मनिर्भर लघुवित्त र जानकी फाइनान्सको शेयरमूल्यमा ६ प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।
कारोबार रकमका आधारमा आज जानकी फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको १९ करोड ९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, रिभरफल्स पावरको १७ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने रसुवागढी हाइड्रोपावरको करिब १३ करोडको शेयर खरिदबिक्री भएको छ । १३ वटा उपसमूहमध्ये आज ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ ।