भोजपुर । आधारभूत स्वास्थ्य केन्द्र स्थापनाले भोजपुरको भौगोलिक रूपमा विकट रहेका दुई गाउँका स्थानीयले सहज स्वास्थ्य सेवा पाएका छन् । वर्षौँदेखि स्वास्थ्य सेवा लिन समस्या झेल्दै आएका टेम्केमैयुङ-५ मझौले र चोलन्ती गाउँका स्थानीयलाई सहजता भएको हो ।
भौगोलिक विकटताका कारण सामान्य स्वास्थ्य सेवा लिन पनि यहाँका नागरिकलाई तीनदेखि चार घण्टा हिँड्नुपर्ने अवस्था थियो । यहाँका स्थानीयवासीले स्वास्थ्य क्षेत्रमा भोगेको समस्यालाई ध्यान राखेर गाउँपालिकाले आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिदिएपछि सहज भएको हो ।
राससका अनुसार स्वास्थ्य चौकी टाढा हुँदा सिटामोल तथा जीवनजल पाउन समस्या हुने गरेको अवस्थामा गाउँमा नै स्वास्थ्य केन्द्र स्थापनाले सेवा लिन सहज भएको स्थानीयवासी रामबहादुर विष्टले बताउनुभयो । दुई गाउँका स्थानीयलाई लक्षित गरेर यहाँ अस्थायी आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनले सेवा लिन सहज भएको उहाँको भनाइ छ । केन्द्र स्थापनाले सामान्य रुघाखोकीको औषधि लिनका लागि घण्टौँ पैदलयात्रा गर्नुपर्ने अवस्थाको अन्त्य भएको विष्टले जानकारी दिनुभयो ।
“वर्षाैँबाट हामीले सामान्य स्वास्थ्य सेवा लिन पनि समस्या थियो”, उहाँले भन्नुभयो, “अहिले गाउँमा नै स्वास्थ्य केन्द्र स्थापना भएपछि सहज भएको छ । स्वास्थ्य केन्द्र नहुँदा हामीलाई धेरै दुःख थियो ।”
विगतका दिनमा यहाँका नागरिकले वडा कार्यालय खावासँगै अन्य स्थानमा स्वास्थ्य सेवा लिन जानुपर्ने अवस्था थियो । केन्द्र स्थापनाले तीनदेखि चार घण्टा हिँडेर वडा नम्बर ४ नागी र वडा नम्बर ९ लेखर्कको पाँचधारे जानुपर्ने अवस्थाको अन्त्य भएको स्थानीय अडिमान विष्टले बताउनुभयो । अहिले गाउँमा नै सेवा लिन पाएका छौँ । यसले सहजता थपेको छ । सामान्य औषधोपचारका लागि टाढा जानु पर्दैन भन्नुभयो ।
नागरिकले भोगेको समस्यालाई ध्यानमा राख्दै मझौले र चोलन्तीलाई लक्षित गरेर अस्थायी आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेर सेवा प्रवाह गरिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । गाउँपालिकाका अन्य विकट क्षेत्रमा पनि स्वास्थ्य केन्द्र स्थापना गरेर सेवा प्रवाह भइरहेको उपाध्यक्ष राईको भनाइ छ ।
“भौगोलिक विकटतका कारण नागरिकलाई स्वास्थ्य सेवा लिन समस्या छ”, उपाध्यक्ष राईले भन्नुभयो, “नागरिकको सहजताका लागि स्वास्थ्य केन्द्र स्थापना गरेर सेवा दिएका छौँ । गाउँपालिकाका अन्य विभिन्न ठाउँमा पनि स्वास्थ्य केन्द्र स्थापना गरेर सेवा प्रवाह भइरहेको छ ।” साविक खावा गाउँ विकास समितिका वडा नं. ९, ८ र ७ का स्थानीयलाई लक्षित गरेर स्वास्थ्य केन्द्र स्थापना गरेर सेवा प्रवाह भएपछि स्थानीयवासी उत्साहित भएका छन् ।